काठमाण्डौ । नागरिक स्टक डिलरले करिब ३ सातादेखि सेयर कारोबार गरेको छैन। 

बजार निर्माताका रुपमा स्थापित यो कम्पनीले विगत लामो समयदेखि सेयर कारोबार नै नगर्नु रहस्यमय बनेको छ। स्टक डिलरको मुख्य काम भनेको बजार बढेर सेयरको मूल्य ओभरभ्यालु हुँदा सप्लाई दिने र प्यानिक सेल हुँदा बजारबाट सेयर खरिद गरेर बजारमा माग सिर्जना गर्ने हो। खासगरी संस्थागत लगानीकर्ता र स्टक डिलर भनेको बजारको स्थायित्वका लागि स्थापन गरिएको हुन्छ। तर, नागरिक स्टक डिलर भने गुमनाम बनेको देखिन्छ।

यसरी पछिल्लो समय गुमनाम बनेको नागरिक स्टक डिलरलाई भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप सूचीकृत कम्पनीको सेयर कारोबारका लागि स्वीकृति प्रदान गरेको छ। 

नेप्सेको सुपरिवेक्षण विभागले नागरिक स्टक डिलरलाई असार १५ गते थप सूचीकृत कम्पनीहरुको सेयर कारोबारका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। 

विभागका एक अधिकारीका अनुसार नागरिक स्टक डिलरलाई थप २३ वटा सूचीकृत कम्पनीको सेयर कारोबार गर्न स्वीकृति प्रदान गरिएको छ। 

योसँगै नागरिक स्टक डिलरले कुल ७७ वटा सूचीकृत कम्पनीको सेयर कारोबार गर्न नेप्सेबाट स्वीकृति पाएको छ। यसअघि नागरिक स्टक डिलरले ५३ वटा सूचीकृत कम्पनीको सेयर कारोबार गर्ने स्वीकृति पाएको थियो।