काठमाण्डौ । सरकारले खाना पकाउने एलपी ग्याँसमा दिंदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने घोषणा गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । 

उनले एलपी ग्यासको प्रयोग कम गर्दै लैजाने र विद्युतीय चुल्होको प्रयोगलाई बढाउने  रणनीतिअनुसार सरकारले यस्तो घोषणा गरेको हो । 

सरकारले आगामी साउनभित्र सिंहदरबारका सार्वजनिक कार्यालय तथा भवनहरुलाई एलपी ग्यास सिलिण्डरमुक्त गरिने घोषणा गरेको छ। 

यस्तै, आगामी ३ महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय तथा भवनलाई समेत एलपी ग्यासविहीन बनाई विद्युतीय चुल्होले प्रतिस्थापन गर्ने घोषणा भएको छ । 

यस्तै, सरकारले स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गरिने बताएको छ । 

विद्युतको पहुँच बाहिर रहेका  परिवारका लागि धुँवामुक्त बनाउन सुधारिएको चुल्हो बनाउन सहयोग गर्ने र विद्युत खपत बढाउन इण्डक्सन चुल्होमा अनुदान दिने समेत बजेटमार्फत घोषणा भएको छ ।