काठमाण्डौ । ब्याजदर घट्ने एनबीएको निर्णयसँगै सेयर बजार बुम भएको छ । 

आज कारोबारको सुरुवातदेखि नै सेयर बजार बढ्न थालेको थियो । सेयर बजार परिसूचक नेप्से कारोबारको पहिलो एकघण्टामा ४० अंकले बढिसकेको छ । 

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले बैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । त्यसकै सकारात्मक प्रभाव बजारमा देखिएको हो । 

एनबीएले बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साबिककको ११ प्रतिशतबाट घटाएर ९.९ प्रतिशतमा झार्ने निर्णय गरेको थियो । यो निर्णयले सेयर बजारमा उत्साह फर्काएको हो ।

ब्याजदर र सेयर बजारको सम्बन्ध ठीक उल्टो हुन्छ । ब्याजदर घट्न थाल्दा सेयर बजार बढ्छ भने बढ्न थाल्दा सेयर बजार घट्छ । मुद्दति निक्षेपमै ११ प्रतिशतभन्दा बढी रिटर्न पाइने भएपछि विगत केही महिना कतिपयले सेयरबजारबाट पैसा निकालेर मुद्दतिमा राखेका थिए ।

तर, निक्षेपको रुपमा आफूसँग भएको पैसा राख्दा आउने रिटर्न घट्ने भएपछि कतिपयले पैसा सेयर बजारमा खन्याउँछन् । 

गत माघदेखि नै निक्षेपको ब्याजदर घटिरहेको छ । माघदेखि घटेको निक्षेपको ब्याजदरले बैंकहरुको स्रोत जुटाउने लागतमा कमी आई आधार दर कम हुने र ऋणको ब्याज पनि बैशाख १ गतेदेखि केही न केही कम हुने अपेक्षा गरिएको छ । अहिले घटाइएको मुद्दति निक्षेपबाट बैंकको लागतमा कम भई पुरानो ऋणहरुको ब्याजदरमा भने आउन साउनदेखि मात्र प्रभाव देखिनेछ ।