काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ घटाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ। 

आईओसीले आज शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल ६.९० रुपैयाँ, डिजेल १२.३१ रुपैयाँ र हवाई इन्धन १०.६१ रुपैयाँ घटेको छ। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ। आज दिउँसोसम्म ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८०.३ डलरमा झरेर कारोबार भइरहेको छ। डब्लूटीआई तेलको भाउ पनि घटेर प्रतिब्यारल ७५.१ डलरमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजार तेलको मूल्यमा लगातार गिरावट आउनु र भारतले सस्तोमा तेल खरिद गरिरहनुले पनि उसले इन्धनको मूल्य घटाएर पठाएको हो। भारतले पछिल्लो समय नेपाललाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाइरहे पनि नेपालमा इन्धनको भाउ स्थिर नै रहेको छ। 

भारतले इन्धनको मूल्य घटाएर पठाएसँगै आयल निगमले पनि इन्धनको मूल्य घटाउने तयारी गरिरहेको स्रोत बताउँछ। 

यसअघि पनि आईओसीले पटकपटक इन्धनको मूल्य घटाएर पठाए पनि आयल निगमले चाहिँ घाटा हुने भन्दै आन्तरिक बजार मूल्य समायोजन गर्न मानेको थिएन। यसको चौतर्फी र चर्को आलोचना भएको थियो। यसपटक भने मूल्य समायोजन गर्न निगम तयार देखिएको छ।