काठमाण्डौ । सरकारले सेयर बजारकै मोडालिटीलाई पछ्याउँदै घरजग्गा कारोबारमा नयाँ कर निर्धारण गरेको छ । 

सरकारले पाँच वर्ष वा पाँच वर्षभन्दा बढी घरजग्गाको स्वामित्व भएको खण्डमा त्यस्तो घरजग्गा बिक्री गर्दा ५ प्रतिशतका दरले कर लगाउने आर्थिक विधेयकमार्फत व्यवस्था गरेको छ । 

यस्तै, ५ वर्षभन्दा कम स्वामित्व रहेको घरजग्गाको कारोबारमा पूँजीगत लाभकर बढाएर ७.५ प्रतिशत कायम गरिएको छ । 

यसअघि ५ वर्षभन्दा कम स्वामित्व अवधि भएका घरजग्गा बिक्री गर्दा लाभकर बापत ५ प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था रहेको थियो । 

अव्यवस्थित रुपमा र अनियन्त्रित रुपमा बढेको घरजग्गा कारोबारलाई नियमन गर्न सरकारले छोटो अवधिमा कायम स्वामित्वको सम्पत्ति बिक्रीमा कर बढाएको बताइएको छ । 

सरकारले धितोपत्रको कारोबार पनि यस्तै व्यवस्था लागू गरेको छ, जसले यो वर्ष पनि निरन्तरता पाएको छ । जसअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा ५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा ७.५ प्रतिशतका दरले कर लाग्ने व्यवस्थाले निरन्तरता पाएको छ।