काठमाण्डौ । सार्वजनिक निश्कासनमार्फत कुनै कम्पनीको सेयरमा लगानी गर्नुपर्दा निकै लामो लाइन छिचोल्नुपर्ने बाध्यता छ । भातपानी नभनी घण्टौ लाइनमा बसेर फारम भरेर पनि सेयर नपरी खिन्न हुनेहरुको संख्या पनि धेरै छ । तर अब सरकारले जलविद्युत क्षेत्रमा लगानी जुटाउने उद्देश्यले यस्तो प्रणालीको विकास गरेको छ, जसमा तपाई आफू घरमै बसेर सहभागी बन्न सक्नुहुन्छ । लामो लाइन लाग्नुपर्ने छैन भने घरमै बसेर अनलाइनबाट रोजेको जलविद्युत क्षेत्रमा आफूले कति लगानी गर्ने हो, प्रतिबद्धता जनाउन पाइनेछ ।
उर्जा मन्त्रालयले घोषणा गरेको नेपालको पानी, जनताको लगानी कार्यक्रम अन्तरगत लगानी गर्न चाहने सर्वसाधारणले घरमै बसेर आफूले कति लगानी गर्ने हो र त्यो लगानीले कति वर्षसम्म कतिसम्म रिटर्न दिन्छ भन्ने कुराको समेत जानकारी तत्काल पाउनुहुनेछ ।
लगानीकर्ताहरुले लाइन नबसी रकम हाल्न सकून् भन्ने उद्देश्यले उर्जा मन्त्रालयले अनलाइनबाट सेयर आवेदन भर्न पाउने सुविधासहितको वेबसाइट सोमबार सार्वजनिक गरेको छ । जलविद्युतमा लगानी गर्न चाहनेहरुलाई प्रोत्साहन गर्न सम्भव भएजति सबै प्रविधिको प्रयोग गरेर सरल बनाउने योजनाअनुरुप पहिलोचरणमा वेबसाइट संचालन गरिएको पत्रकार सम्मेलन गरी उर्जामन्त्री जनार्दन शर्माले बताएका छन् । उनका अनुसार देशभित्र वा बाहिर रहेका नेपालीहरुले आफूले गर्नसक्ने लगानीको प्रतिबद्धता अनलाइनबाटै गर्न सक्नेछन् । यसरी आएको लगनाीको प्रतिबद्धताको आधारमा निर्माण गर्नसकिने आयोजना छनौट गरी त्यसको जानकारी लगानीकर्तालाई दिइने मन्त्री शर्माले प्रष्ट्याए । यो योजना अन्तर्गत गैरआवासीय, आम नागरिक, सरकारीरसंस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि शेयर लगानी गर्न सक्नेछन्।
शर्माका अनुसार वेबसाइटमा सोमबार((आज)देखि नै नागरिकले आफूले लगानी गर्न चाहेको रकमको प्रतिबद्धता भर्न सक्नेछन् । नागरिकबाट उठाइएको रकम जलविद्युत् उत्पादन कम्पनीले अगाडि बढाउने नलसिंहगाड, शारदा, माथिल्लो अरुण, तल्लो अरुणजस्ता महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनामा लगानी गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसरी भर्नुहोस् आवेदन
आवेदन भर्न सुरुमा यो वेबसाइट लगइन गर्नुहोस् । नयाँ प्रयोगकर्ताहरुले नयाँ इकाउन्ट बनाउनुपर्छ । त्यसमा गएर इमेल र पासवर्ड हाल्नुपर्छ । र, तपाईको इमेलमा नोटिफिकेसन आउँछ । त्यो नोटिफिकेसनमा क्लिक गरेपछि मात्रै तपाईको एकाउन्ट एक्टिभ हुनेछ । यसपछि मात्र तपाई यो वेबसाइटमा सेयर लगानी फारम भर्न योग्य ठहरिनुहुनेछ । पहिलो पेजमा तपाईले आफ्नो व्यक्तिगत विवरणहरु भर्नुपर्छ । त्यसपछि तपाईले अर्को पेज गई लगानीकर्ताको प्रकार छान्नुपर्छ । यसमा गैरआवासीय, आम नागरिक, सरकारी र संस्थानका कर्मचारी र वैदेशिक रोजगारीका गरी चार वर्गका लगानीकर्ता राखिएका छन् । त्यसपछि तपाईंले इच्छाएका व्यक्तिको विवरण भर्नुपर्छ । त्यसपछि अर्को पृष्ठमा गएर आफूले लगानी गर्ने कुल रकमको प्रतिबद्धता व्यक्त गर्नुपर्छ । प्रारम्भमा लगानीको प्रतिबद्धता मात्र जनाउने हो, पैसा नै जम्मा गरिहाल्नु नपर्ने सुविधा दिइएको छ । यसरी ६ चरणमा फारम भरेपछि तपाई पनि सरकारले बनाउने भएको जलविद्युत आयोजनाको संभावित लगानीकर्ता बन्नुहुनेछ । सरकारले मागेको बेला आफूले व्यक्त गरेको प्रतिबद्धता अनुसारको रकम तोकिएको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19