काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ स्थगन घोराही सिमेन्ट इन्डस्ट्रीबारे अध्ययन प्रक्रिया अगाडि बढाएको छ। 

धितोपत्र बोर्डले विशेषगरी घोराही सिमेन्टको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र सेयरमा परेको फर्जी आवेदनबारे अध्ययन गर्ने भएको छ। यसका लागि धितोपत्र बोर्डले जाँचबुझ समिति नै बनाउने तयारी पनि गरिरहेको स्रोत बताउँछन्। ‘अहिले धितोपत्र बोर्डमा जाँचबुझ समिति बनाउने विषयमा छलफल भइरहेको छ’, स्रोतले भन्यो, ‘आवश्यक देखिएकोमा जाँचबुझ समिति बन्नेछ।’

धितोपत्र बोर्डले आज प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिबाट नयाँ ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाउन अनुमति पाएको छ। अर्थ समितिको आज बसेको बैठकले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न धितोपत्र बोर्डलाई अनुमति दिएको हो। 

अर्थ समितिको बैठकमा सांसदहरुले धितोपत्र बोर्डसँग घोराही सिमेन्टका विषयमा पनि जिज्ञाशा राखेका थिए। जबाफमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मुख्य तीन विषयमा केन्द्रित भएर घोराही सिमेन्टबारे अध्ययन भइरहेको बताए। ‘हामीले रेटिङ कम्पनीले गरेको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र सेयरमा परेको फर्जी आवेदनका बारेमा अध्ययन गर्नेछौँ’, उनले भने। 

मुख्य यी ३ विषयबाहेक आवश्यक देखिएमा धितोपत्र बोर्डले अन्य कुराहरुको पनि अध्ययन गर्नेछ।