काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा १० लाख कित्ताका दरले फर्जी आवेदन दिने १२ जनाको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। 

घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा ठूलो परिमाणमा फर्जी आवेदन परेपछि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया स्थगित गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। ‘घोराही सिमेन्टको आईपीओमा अख्तियारले पनि चासो दिएको छ। अख्तियारले फर्जी आवेदन दिनेको विवरण मागेपछि १०–१० लाख कित्ता फर्जी आवेदन दिने १२ जनासहित अन्य केहीको विवरण अख्तियार पठाइएको छ’, धितोपत्र बोर्ड स्रोतले भन्यो। 

स्रोतका अनुसार १० लाख कित्ताका दरले फर्जी आवेदन दिनेमा भक्तपुरका प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य र श्रीजा पोखरेल छन्। ‘ललितपुरका अनिल राना र काठमाण्डौकी सुमित्रा बमले १० लाख कित्ताको फर्जी आवेदन दिएको देखिएको छ’, स्रोतले भन्यो

यसैगरी १० लाख कित्ताका दरले फर्जी आवेदन दिने पर्वतकी रञ्जना ढकाल पौडेल, गोरखाकी सावित्रा पराजुली, रुपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री, चितवनका मनोज पाठक, सुनसरीका मिथिलेशकुमार मेहता र दोलखाका नवीन खत्रीको विवरण पनि अख्तियार पठाइएको स्रोत बताउँछ। 

धितोपत्र बोर्डले पनि अहिले फर्जी आवेदन, कम्पनीको रेटिङ र सेयर प्रत्याभूतिका विषयमा अनुसन्धान गरिरहेको छ। 

घोराही सिमेन्टले प्रिमियम मूल्यसहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आईपीओ बिक्री खुला गरेको थियो। सर्वसाधारणको लागि कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्री खुला गरिएको थियो। तर, मागभन्दा बढी आवेदन परेपछि पनि कम्पनीले आवेदन दिने थप गरेपछि यो आईपीओ शंकाको घेरामा फसेको हो।