काठमाण्डौ । प्रिमियममा आईपीओ जारीपछि केही महिनाअघि मात्र दोश्रो बजारमा कारोबार सुरु भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमीटेडले १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

बोनस सेयर वितरणको प्रस्तावसहितका अजेण्डा पारित गर्न यो कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। 

कम्पनीले पुस २८ गते दाङको होटल पौवामा बिहान ९ बजेदेखि आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वन गरेको हो ।

सभामा हाल चुक्तापूँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष अजेण्डा पेश हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका अजेण्डाहरु पेश हुने सूचनामा उल्लेख छ । 

साधारणसभा प्रयोजनका लागि घोराही सिमेन्टले पुस १६ गते एकदिनका लागि बुक क्लोज गर्नेछ । यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीले घोषित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन् । 

दोश्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. ५७० रहेको छ ।