काठमाण्डौ । ङादी ग्रुप पावरले विशेष साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। कम्पनीले विशेष साधारणसभा आउँदो साउन १४ गते आयोजना गर्ने निर्णय गरेको छ। 

सभाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

हाल कम्पनीको लमजुङको सिउरीखोला साना जलविद्युत आयोजना (४.९५ मेगावाट)बाट नियमित विद्युत उत्पादन तथा वितरण भइरहेको छ। 

सञ्चालित उक्त आयोजनाको मर्मतसम्भार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सिर्जना गरी राष्ट्रिय पुँजी वृद्धि गर्न आयोजनाको सञ्चित मुनाफा, बैंक ऋणलगायतका वैकल्पिक स्रोतबाट मात्रै सम्पूर्ण रकम जोहो गर्न नसकिने भएकोले हकप्रद सेयर जारी गर्न लागिएको कम्पनीले जनाएको छ। 

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन ३ गतेसम्म कायम सेयरधनीहरु सभामा भाग लिन पाउनेछन्।