काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडो सम्पत्ति कमाउने मोह बढ्नु चिन्ताको सबैका लागि विषय भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै  सो कुरा बताएका हुन् ।

उनले धेरै सम्पत्ति चाँडो कमाउने मोहमा रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन भइरहेको पनि बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘उत्पादकत्वमा कमि, बेरोजगारीलगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति छ, तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमासमेत प्रतिष्ठित व्यक्तिहरू पनि सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ । यो  साँच्चिकै चुनौतीको विषय हो ।’

प्रधानमन्त्री प्रचण्डले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको समेत बताए ।

नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको भन्दै त्यो पनि चुनौतीको रुपमा विद्यमान रहेको उनले बताए । 

शिक्षा लगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ ’।