– अर्जुन तिमिल्सिना

काठमाण्डौ । मन्त्रिपरिषद्को आजको बैठकले वैशाखमा ३० मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ।

स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै बजारमा उमंग छाएको छ। अब तरलता सहज हुने र सेयर बजारमा पनि सकारात्मक प्रभाव पार्ने आँकलनहरु गर्न थालिएको छ। 

सेयर बजारमा तरलता महत्व निकै हुन्छ। तरलतामा दबाब पर्दा सेयर बजारमा नकारात्मक असर पर्छ भने तरलता सहज हुँदा सेयर बजारमा सकारात्मक प्रभाव पर्छ। 

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको दबाब निकै परेको छ। जसका कारण बैंकहरुले सोचेअनुरुप कर्जा लगानी गर्न सकेका छैनन्। जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा केही समयअघि देखिएको थियो। 

अर्थशास्त्री मीनबहादुर क्षेत्री चुनावी मौहालमा खर्चहरु बढ्ने भएकोले तरलता सहज नै हुने बताउँछन्। ‘किनकि चुनावी खर्चमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पैसा बाहिर निस्किन्छ’, क्षेत्री, ‘यसले तरलता बढाउँछ।’

तरलता बढेसँगै धेरै पैसा उपभोगमा पनि खर्च हुने क्षेत्रीको भनाइ छ। ‘महँगी तथा मुद्रास्फीति दुवै बढ्ने हुन्छ’, उनले भने, ‘पुँजी बजारमा भने यसले केही सकारात्मक प्रभाव पार्ला ।’

क्षेत्रीले चुनावको बेला रेमिट्यान्स पनि सामान्य बढ्ने बताए। ‘अब सरकारको विकास खर्च र साधारण खर्च दुवै बढ्छ’, उनले भने, ‘यसले अर्थतन्त्र चलायमान नै हुन्छ।’

वित्त विश्लेषक हेमन्त बस्याल अब सरकारी खर्च बढ्ने बताउँछन्। ‘अब नेताहरु योजना लिएर गाउँगाउँ जान्छन्’, उनले भने, ‘केही रकम यही अर्थतन्त्र र केही रकम बजेटबाट खर्च हुन्छ।’

‘निर्वाचन आयोगले नै १२ अर्ब रुपैयाँ खर्च लाग्ने भनेको छ’, बस्यालले भने, ‘चुनावका बेला एनजीओ र आईएनजीओ पनि सक्रिय हुने हुँदा खर्च बढ्छ।’

बस्यालले चुनावका बेला रेमिट्यान्स पनि बढ्ने बताए। ‘त्यसैले यी सबैका कारण तरलता सहज हुन्छ’, उनले भने।

चालु आर्थिक वर्षमा सरकारले २ खर्बभन्दा खर्च गर्ने हुँदा तरलता सहज नै हुने बस्यालले बताए। 

अर्का अर्थशास्त्री मुक्तिबहादुर खत्री चुनावको घोषणासँगै अब सरकारको खर्च पनि बढ्ने भएकोले तरलता सहज हुँदै जाने बताउँछन्। ‘पहिलेजस्तो तरलता फालाफाल त नहोला तर अहिलेको अवस्थाभन्दा केही सहज हुन्छ’, उनले भने। 

चुनावी महौल सुरु भएसँगै खर्च बढ्ने हुँदा तरलता सहज हुने खत्रीले बताए। ‘चुनावीको घोषणासँगै रेमिट्यान्स पनि बढ्छ, स्थानीय तहका उम्मेदवारहरुले चुनावका बेला पार्टीबाट, साथीभाइबाट, आफ्नै पैसा र विदेशमा रहेका आफन्तबाट पैसा झिकाएर खर्च गर्छन्’, उनले भने, ‘यसले तरलता सहज हुने नै देखिन्छ।’