काठमाण्डौ । चौतर्फी आलोचना भई अदालतमा मुद्दा समेत विचाराधीन रहेको भए पनि हिमालयन रिइन्स्योरेन्स लिमीटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निश्कासन गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि आईपीओ निश्कासन गर्ने भएको हो । 

यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँको दरले आईपीओ निश्कासन गर्नेछ । 

कम्पनीको आईपीओमा छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । पहिलो चरणमै सब्सक्राइब्ड भएमा आवेदन दिने समय पुस ११ गतेसम्म कायम हुनेछैन । 

कम्पनीले कुल ३ करोड कित्ता आईपीओ प्रिमियममा निश्कासन गर्न पाउने अनुमति पाएको थियो । त्यसमध्ये ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गरिसकेका छन् । 

कुल सार्वजनिक निश्कासनको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । यसरी अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

यो कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्दै आएको छ । 

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र उनीहरुले तोकेका केन्द्रमा गएर वा सिडिएससीको 'मेरो सेयर' लगइन गरी अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।