काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले आज(मंसिर १९ गते)देखि ६ लाख कित्ता आइपीओ निश्कासन गरेको छ ।

धितोपत्र बोर्डले आइपीओ निश्कासनको अनुमति दिएको करिब साढे २ महिनापछि यो कम्पनीले आइपीओ निश्कासन गरेको हो ।


मंसिर १९ देखि खुलेको आइपीओमा छिटोमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ  ।

यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि बोर्डमा २०७५ असार ७ गते आवेदन दिएको थियो । 

कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता लघुवित्तका कर्मचारीका लागि र ३० हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी ५ लाख ६० हजार ७ सय कित्ता सर्वसाधारणका लागि हुनेछ ।   

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । तर, धितोपत्र बाँडफाँडको नयाँ निर्देशिका अनुसार प्रत्येकलाई आइपीओ परेको खण्डमा १० कित्ताको दरले बाँडफाँड हुने भएकोले लघुवित्तको आइपीओमा ५ हजार रुपैयाँ लगानी गरे पुग्छ । किनभने लघुवित्तको आइपीओमा सर्वसाधारणको अचाक्ली आकर्षण हुने गरेको छ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्नेछ । 

हाल चौतारीको चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि १८ करोड ६० लाखको उचाईमा पुग्नेछ । 

लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान रहेको छ । २०७२ सालमा बित्तीय सेवा संचालनको अनुमति पाएको यो कम्पनीको हाल ३४ शाखा रहेका छन्।

कम्पनीको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक  स्थितिलाई जनाउँछ ।