काठमाण्डौ । तीन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्रीमा राखेका छन्। 

छिमेक लघुवित्त, साधना लघुवित्त र आरएसडीसी लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयरहरु बिक्री गर्न निवेदनदिएबमोजिम ती संस्थाहरुले बिक्री प्रक्रिया अघि बढाएका हुन्। 

छिमेक लघुवित्तले संस्थापक सेयरधनी महेन्द्र गौतमको नाममा रहेको १५ हजार कित्ता सेयर बिक्री खुला गरेको छ। उक्त सेयरको न्यूनतम मूल्य ६०० रुपैयाँ तोकिएको छ । यसर्थ विद्यमान संस्थापक सेयरधनीहरुले तोकिएको वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। 

संस्थापकहरुले काठमाण्डौको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्। 

यसैगरी साधना लघुवित्तले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री खुला गरेको छ। संस्थाको सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजातसहित गोरखा नगरपालिका–६ स्थित संस्थाको केन्द्रीय कार्यालया निवेदन दिन सक्नेछन्।

यस्तै आरएसडीसी लघुवित्तले संस्थापक सेयरधनी कृष्णप्रसाद बस्यालको नाममा रहेको ५ हजार ४३४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई सो सेयर बिक्री गरेकोमा संस्थापकहरुबाट आवेदन नपरेको हुँदा सर्वसाधारणलाई बिक्री खुला गरेको हो। 

उक्त सेयरमा आवेदन दिनका लागि ७ दिनभित्र काठमाण्डौको नक्सालस्थित संस्थाको सेयर रजिस्ट्रार बीओके क्यापिटल मार्केट वा रुपन्देही बुटवलस्थित आरएसडीसी लघुवित्तको कार्यालय आइपुग्ने गरी दरखास्त दिन सकिनेछ।