काठमाण्डौ। हिजोआज सामाजिक सञ्जालमा ब्रोकर कम्पनीहरुलाई सेटलमेन्ट मिति नै सारेर बूलमा किनेको सेयर भर्खरै खातामा हालिएको भन्ने आरोप लागिरहेको छ।

नेप्से विनियमावलीमा नै अक्सन मार्केटको सञ्चालन गर्ने अधिकार पाए पनि करोडौं रकम क्लोज आउट पर्दासमेत नेप्से निष्क्रिय छ। नेपाल इन्भेस्टर्स फोरमकी सदस्यसमेत रहेकी दुर्गा तिवारीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छन्, ‘केही ठूलो पर्दा पछाडिका समूहहरु मिलेर आफूसँग नभएको सेयर पनि नेप्से १६५० को विन्दु माथि पुगेको बेला लाखौं कित्ता बेचेर अहिले बजारलाई जतिसक्दो तल झार्दै किन्दै गरेको कुरा सुन्नमा आयो र उनीहरुले सर्वसाधारण लगानीकर्ताको सेयर यो प्रयोगका लागि सेटलमेन्ट गर्ने अनि लगानीकर्ताको खातामा धेरै दिनपछि मात्र सेयर हाल्ने र सेटलमेन्टको मिति सार्ने काम गरेको भन्ने कुराहरू पनि सुन्नमा आयो।’

तिवारीले अगाडि लेखेकी छन्, ‘यदि त्यसो हो भने अहिले सस्तोमा सेयर बेच्ने सर्बसाधरण लगानीकर्ता बियर ट्रयापमा पर्ने सम्भावना हुन्छ। बियर ट्रयाप भनेको नाटकीय रूपमा घटाएको बजारमा आफूले सेयर सस्तोमा बेचेको केही दिनपछि बजार फेरि बुलमा फर्कनु हो ।’ 

‘नोट: आफूसँग नभएको सेयर महँगोमा बेचेर फेरि सस्तो बजारमा किनेर सेटलमेन्ट मिलाउने कामलाई सर्ट सेल बजार भन्छ । यो सुविधा कि सबै लगानीकर्तालाई दिनुपर्यो नभए सीमित समूहलाई मात्र यो सुविधा किन ? सरकार ?’, तिवारीले उल्लेख गरेकी छन्।

यस विषयमा स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाट भन्छन्, ‘फेसबुकमा आइरहेको हल्ला गलत हो। अक्सन मार्केटको अभावमा क्लोज आउट बढ्दै गइरहेको छ र हामीले नेप्सेलाई बारम्बार भनी पनि रहेका छौँ।’

अक्सन मार्केट नहुँदा बढ्दो बजारमा क्लोज आउटले विकराल रूप लिएको रानाभाटको भनाइ छ। उनले बिजशालासँग भने, ‘५० लाख जम्मा भइसकेको सेटलमेन्ट ग्यारेन्टी फन्डलाई अझ सशक्त बनाउन आवश्यक रहेको छ।’

सामाजिक सञ्जालमा भनिएजस्तो फ्रिक्वेन्ट्ली सेटलमेन्ट मिति नसारिएको सीडीएससीका प्रवक्ता सुरेश न्यापानेले बताए। उनले भने, ‘एकाध केसमा तथा जेन्यून केसमा नेप्सेले सिफारिस गरेपछि कार्यान्वयन भने गरिएको घटना छ।’

स्रोतका अनुसार लगानीकर्ता दुर्गा तिवारी ट्रेडर हुन् र लगातार धेरै सेयर खरिदबिक्री गर्छिन्। ‘तिवारीले करोडौं रकम सेयर बजारमा खन्याएकी छन्। उनले बढ्दो बजारमा अकूत कमाएको र हाल बजार घटेकाले उनलाई टाउको दुखाइको विषय बनेको छ’, स्रोत भन्छ। 

तिवारीजस्तै बाठा लगानीकर्ताले बढ्दो बजारमा आफ्नो नाममा सेयर नै नभई बेच्दै लाखौं नाफा कुम्ल्याउने गर्दा सोझासाझा लगानीकर्तालाई महँगोमा सेयर भिडाइरहेको स्रोत बताउँछ । सेबोन र नेप्सेले समेत जानाजान लगानीकर्ताले क्लोज आउट पार्दासमेत दिनमा आधा घन्टामात्रै अक्सन मार्केट सञ्चालनमा ल्याए धितोपत्र किन्नेले समयमै सेयर पाउने र जानाजान क्लोज आउट पार्ने लगानीकर्तालाई अक्सन मार्केटबाट सेयर भर्पाइ गराउन अबिलम्ब पहल गर्न अत्यावश्यक भइसकेको छ।

तिवारीले कारोबार गर्ने ब्रोकर नम्बर १७ एबीसी सेक्युरिटीकका सञ्चालक नितेश अग्रवाललाई तिवारी केसबारे सोध्दा बेच्ने ब्रोकरले यथोचित कारण दिई सेयर दिन ढिलाइ भएको जानकारी दिए। यसको मतलब ब्रोकर नम्बर १७ की दुर्गा तिवारी खरिदकर्ता तर बिक्रीकर्ता अर्कै ब्रोकरले सेयर हस्तान्तरण गर्न ढिला गरिदिएको रहेछ। 

नेप्सेले आवश्यक अध्ययन गरेर प्रामाणिक कारण भेट्दामात्र सेटलमेन्ट मिति सर्न सक्ने प्रावधान छ।