काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको  हो । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।

 टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयन हुने बताइएको छ । टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ने भएपनि तत्काल बन्द गर्ने निर्णय भएको उनको भनाइ छ ।

टिकटकका नेपालमा धेरै ग्राहक छन्। सरकारले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेता पनि चिनियाँ पक्षबाट कुनै धारणा सार्वजनिक भएको छैन । 

यसअघि भारत सरकारले पनि टिकटकलाई प्रतिबन्ध लगाइसकेको छ ।

लोकप्रिय भिडियो सेयरिङ एप्लिकेसन टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ ।

सरकारको टिकटकमा प्रतिबन्ध लगाउने निर्णयपछि सञ्चारकर्मी अखिलेश उपाध्यायले ट्वीटरमा उक्त निर्णयप्रति आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु समाधान होइन भन्दै उल्लेख गरेका छन् ,‘कानून बनाउने, नियमन गर्ने, निगरानी गर्ने । हामी लोकतन्त्र हौं निरंकुशता होइन ।’