काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेड(नेपाल टेलिकम)को खूद नाफा घटेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनीले ९ अर्ब ९८ करोड खूद नाफा आर्जन गरेको हो । 

अघिल्लो वर्षको यही अवधिमा टेलिकमको खूद नाफा ११ अर्ब ८५ करोड थियो । 

नाफा घटेसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ। अघिल्लो वर्षको यही अवधिमा १०५.३९ रुपैयाँ रहेको इपीएस घटेर समीक्षा अवधिमा ८८.७५ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

ग्राहकहरुबाट हुने आम्दानी २९ अर्ब ३९ करोडबाट घटेर २७ अर्ब ५० करोडमा सीमित बन्दा टेलिकमको नाफा घटेको हो। 

अन्य आम्दानीतर्फ भने टेलिकमले सामान्य प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ४ अर्ब ४६ करोड रहेको यस्तो आम्दानी बढेर ४ अर्ब ९६ करोडको उचाईमा पुगेको छ। 

चुक्तापुँजी १५ अर्ब रहेको यो कम्पनीको रिजर्बको आकार बढेर ८६ अर्ब ४० करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको रिजर्ब ७९ अर्ब ६९ करोडमा सीमित थियो ।

समीक्षा अवधिसम्म कम्पनीले ११ अर्ब ५८ करोड लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९ अर्ब ६५ करोड मात्र लगानी गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ६७६.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.०२ गुणा कायम भएको छ ।