काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटाइजेसनमा जोड दिँदै आइरहेको छ। केन्द्रीय बैंकले डिजिटल बैंकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आइरहेको छ। साथै, ‘नगदरहित’ भुक्तानी प्रणालीको विकास गर्न राष्ट्र बैंकले पहलसमेत गर्दै आइरहेको छ। 

राष्ट्र बैंकले चालेको पहलकमदलाई सिटिजन्स इन्टरनेसनल बैंकले समर्थन गर्दै डिजिटाइजेसनमा जोड दिँदै आइरहेको छ। पछिल्लो समय सिटिजन्स बैंकले डिजिटाइजेसनको सन्दर्भमा सरलीकृत डिजिटल तथा रिटेल बैंकिङ सेवा–सुविधा प्रदान गर्दै आइरहेको छ। 

नेपाली बैंकिङ क्षेत्रले डिजिटाइजेसनमा अभूतपूर्व फड्को मार्दा सिटिजन बैंकले आफ्ना सेवाग्राहीलाई सरलीकृत ढंगबाट डिजिटल तथा रिटेल बैंकिङ सेवा–सुविधा दिँदै आइरहेको छ। बैंकबाट प्रवाहित डिजिटल भुक्तानीका माध्यमबाट आमसर्वसाधारणको दैनिक कारोबारमा समेत सहजता हुन थालेको छ। 

सिटिजन्स बैंकले कार्ड तथा एटीएम सेवा, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट तथा आस्बा सुविधा, अनलाइन सुविधा, रेमिट्यान्स सेवा, डिस्काउन्ट तथा अफरहरु र बीमाको सेवासहित अन्य थुप्रै सेवासमेत प्रदान गर्दै आइरहेको छ। दशसैभर वित्तीय साक्षरता प्रबर्द्धनमा जोड दिँदै बैंकले डिजिटल भुक्तानी प्रणालीको विकास गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा साक्षरतासम्बन्धी कार्यक्रमसमेत गर्दै आइरहेको छ। बैंकले सर्वसाधारणको दैनिक कारोबारमा डिजिटल भुक्तानीका माध्यमहरु अत्यावश्यक बन्दै गएको सन्दर्भलाई मध्यनजर डिजिटल तथा रिटेल बैंकिङका विभिन्न सेवा दिँदै आइरहेको छ। 

कार्ड तथा एटीएम सेवा 

सिटिजन्स बैंकले नेपाल तथा विदेशमा समेत सञ्चालन गर्न मिल्ने गरी एनपीआर र यूएसडी डेबिट कार्ड तथा क्रेडिट सञ्चालनमा ल्याएको छ। यसैगरी विदेश भ्रमणमा जाने ग्राहकका लागि ‘यूएसडी ट्राभल’ कार्डसमेत सञ्चालनमा ल्याएको छ। जसअनुसार विदेश जाने नेपालीले सटही सुविधास्वरुप २ हजार ५०० अमेरिकी डलरसम्मको सटही सुविधा यही कार्डबाट समेत खर्च गर्न पाउनेछन्।

त्यसैगरी नेपालमै बसेर अनलाइनमार्फत वस्तु तथा सेवा प्रयोग गर्ने उद्देश्यले ५०० डलरसम्मको ‘ई–कम कार्ड’को सुविधासमेत बैंकले प्रदान गर्दै आएको छ। यस्तो सुविधा प्राप्त गर्न ग्राहकले सिटिजन्स बैंकमा खाता खोल्नुका साथै प्यान नम्बर उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ। प्यान नम्बरका आधारमा वार्षिक ५०० डलरसम्म कार्डबाटै अनलाइन कारोबार गर्ने सुविधा बैंकले उपलब्ध गराउँदै आएको छ। 

बैंकले आफ्ना विभिन्न शाखाबाट जीआरई, जी–म्याट, टोफेल भिसा प्रोसेसिङजस्ता सेवाहरुको अनलाइन भुक्तानीसमेत गर्ने व्यवस्था मिलाएको छ। यसबाट डलर खाता नहुने ग्राहकले समेत यस्तो सेवाहरु सरल रुपमा प्राप्त गर्न सक्नेछन्। बैंकले तत्काल कार्ड आवश्यक भएका ग्राहकलाई लक्षित गरी तत्कालै कार्ड दिने व्यवस्था पनि मिलाएको छ। यस्तो सेवा एनपीआर र डलर दुवै किसिमका कार्डमा उपलब्ध हुने बैंकले जनाएको छ।

यसैगरी बैंकले एटीएम सेवाअन्तर्गत काठमाण्डौ, पोखरा, विराटनगर, वीरगन्ज, नेपालगन्ज, बुटवल, धनगढीजस्ता मुख्य सहरमा मात्र नभई जुम्ला, जाजरकोट, मुगुजस्ता दुर्गम स्थानबाट समेत एटीएम सेवा प्रदान गर्दै आएको छ। यसरी विभिन्न भौगोलिक स्थानका करिब डेढ सय एटीएमबाट बैंकले आफ्नो सेवा विस्तार गरेको छ।

मोबाइल तथा इन्टरनेट बैंकिङ 

सिटिजन बैंकले आफ्ना सेवाग्राहीलाई सहज ढंगबाट मोबाइल तथा इन्टरनेट बैंकिङको सेवा–सुविधा दिँदै आइरहेको छ। मोबाइल बैंकिङमा अन्य बैंकको भन्दा धेरै फिचर भएको बैंकले दाबी गरेको छ। यसका साथै बैंकको मोबाइल बैंकिङ सेवा सहज, सरल र विश्वसनीय हुनुका साथै विभिन्न सुविधासमेत रहेको बैंकले जनाएको छ। नेपाली बैंकिङ क्षेत्रकै उत्कृष्ट विशेषताले भरिपूर्ण मोबाइल बैंकिङ सेवामा परम्परागत खाताको विवरण हेर्ने, रकमान्तर गर्नेबाहेक विभिन्न बिल पेमेन्ट, कार्डलेस भुक्तानी, भिसाकार्ड अनुरोध, अनलाइन मुद्दति खाता खोल्ने सुविधा, अनलाइन अपोइन्टमेन्ट सिस्टमका साथै क्यूआर भुक्तानीजस्ता सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ। 

यसैगरी मोबाइल बैंकिङबाटै ग्राहकले कर्जा लिन सक्ने सुविधासमेत रहेको बैंकले जनाएको छ। कस्टमरले बैंकले तोकेको सीमाअनुसार मोबाइल बैंकिङबाटै लोन माग गर्न सक्नेछन् र सम्बन्धित ग्राहकले तलब वा अन्य रकमबाट मोबाइल बैंकिङमार्फत कर्जा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। कर्जा सुविधा तथा प्रिभिलेज बैंकिङजस्तो विशिष्टीकृत सेवाले गर्दा बैंकको मोबाइल बैंकिङ एपलाई एउटा पृथक, उत्कृष्ट विशेषतायुक्त एप बनाउन मद्दत गरेको बैंकले जनाएको छ। 

यस्तै अंग्रेजीबाहेक नेपाली भाषामा समेत मोबाइल बैंकिङ प्रयोग गर्ने सुविधा बैंकले प्रदान गरेको छ।

बैंकले ग्राहकमैत्री सुविधा प्रदान गर्ने क्रममा इन्टरनेट बैंकिङ सुविधा पनि प्रदान गर्दै आइरहेको छ। इन्टरनेट बैंकिङअन्तर्गत स्टेटमेन्ट हेर्ने, रकमान्तर गर्नेलगायत बिल पेमेन्टको सुविधा पनि प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार ग्राहकलाई इन्टरनेट बैंकिङमार्फत दैनिक २० लाख र मासिक ५० लाखसम्मको कारोबार गर्ने सुविधा छ। यसैगरी विश्वको जुनसुकै कुनाबाट समेत इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्न सकिनेछ।

डिम्याट तथा आस्बा सुविधा

सिटिजन्स बैंकले विभिन्न सरलीकृत सेवा दिने क्रममा डिम्याट तथा आस्बा सेवासमेत प्रदान गर्दै आइरहेको छ। बैंकको डिम्याट सेवा छिटो, छरितो र स्तरीय रहेको बैंकले जनाएको छ। बैंकले ग्राहकलाई अनलाइनमा ‘मेरो सेयर’मार्फत वा बैंकका शाखा कार्यालयमा उपस्थित भई सेयर आवेदन गर्ने सुविधासमेत प्रदान गर्दै आइरहेको छ। ग्राहकको सहजताका लागि आफ्नो डिम्याट तथा सीआरएन नम्बरको विवरण मोबाइल बैंकिङबाटै समेत हेर्न सक्ने व्यवस्था बैंकले गरेको छ।

अनलाइन सुविधा

अनलाइन सिस्टममार्फत प्रभावकारी सेवा प्रदान गर्न र बैंकसम्म नआई सेवा प्रदान गर्न बैंकले नयाँ भिसा कार्ड अनुरोध, पिन अनुरोध, कार्ड ब्लक गर्ने सुविधाजस्ता सेवाहरु अनलाइन तथा मोबाइल बैंकिङमार्फत प्रदान गरिरहेको छ। यसैगरी ग्राहकले क्यूआर कोड रजिस्ट्रेसन अनुरोध, खाता नम्बर परिवर्तन, मोबाइल नम्बर परिवर्तनजस्ता अनुरोध पनि अनलाइनबाट गर्न सकिने बैंकले जनाएको छ। यसका साथै मेरो सेयर अनुरोध, सीआरएन नम्बर अनुरोध, मेरो सेयर पासवर्ड अनुरोध, मेरो सेयर रिन्यूजस्ता सेवासमेत अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था बैंकले गरेको छ।

रेमिट्यान्स सेवा

सिटिजन्स बैंकले संसारको जुनसुकै कुनाबाट पठाएको रकम प्राप्त गर्न आफ्नै विप्रेषण सेवा ‘सिटिजन्स रेमिट’ सञ्चालनमा ल्याएको छ। यसका साथै नेपालका अन्य रेमिट्यान्स कम्पनीसँग सहकार्य गर्दै, जुनसुकै माध्यमबाट आएको विप्रेषण रकम ग्राहकलाई प्रदान गर्ने व्यवस्थासमेत बैंकले गरेको छ। यसबाट रेमिट्यान्स प्राप्त गर्न बैंकसम्म आइपुग्ने कुनै पनि ग्राहक सेवा प्राप्त नगरी फर्किनुपर्ने अवस्था नरहने बैंकको विश्वास छ। यसका साथै बैंकले आफ्नै मोबाइल बैंकिङ प्रायोग गरी रेमिट्यान्स प्राप्त गर्ने सेवाका साथै ‘सिटिजन्स रेमिट’मार्फत प्राप्त रकम जुनसुकै बैंकमा तुरुन्तै जम्मा गर्ने व्यवस्थासमेत गरेको छ।

डिस्काउन्ट तथा अफर

सिटिजन्स बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा आफ्ना सेवाग्राहीलाई थप सुविधा प्रदान गर्न विभिन्न संस्थासँग डिस्काउन्ट अफरसमेत ल्याएको छ। बैंकले विभिन्न हस्पिटल, होटेल, रेस्टुरेन्ट, क्लिनिक, म्युजियम, पार्कलगायतमा डिस्काउन्टको व्यवस्था गरेको छ। भारतको प्रसिद्ध मेदान्त हस्पिटल, अपोलो हस्पिटललगायतमा समेत बैंकका ग्राहकले यस्तो सुविधा प्राप्त गरिरहेको बैंकले जनाएको छ। 

यसका साथैै बैंकले दराज अनलाइनमा सपिङ गर्दा प्रत्येक बिहीबार ५०० रुपैयाँसम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ भने पहिलो कार्ड कारोबारमा १५० रुपैयाँसम्मको डिस्काउन्ट प्रदान गर्दै आएको छ।

अन्य सेवाहरु

सिटिजन्स बैंकले आफ्ना आन्तरिक तथा बाह्य प्रणालीलाई डिजिटाइज गर्ने प्रक्रियालाई प्राथमिकतामा राखेको छ। बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ। जसअनुरुप बैंकका ग्राहक सेवा प्रतिनिधिहरुले चौबीसै घन्टा सेवा प्रदान गर्दछन्। त्यस्तै बैंकले बैंक कर्मचारीहरुको संलग्नता बिनै चेक डिपोजिट गर्ने सेवा प्रदान गरेको छ। यस्तो सेवा बैंकको दरबारमार्ग, कलंकी, नयाँबजार, विराटनगर, वीरगन्ज, बुटवलस्थित हस्पिटल लाइनलगायतका शाखामा उपलब्ध छ। यसबाहेक बैंक टेलरको सहायता बिना नै नगद जम्मा गर्न क्यास डिपोजिट मेसिनको समेत व्यवस्था बैकले गरेको छ।

डिजिटाइजेसनको प्रभाव र भावी योजना 

डिजिटल बैंकिङ प्रणालीमा जोड दिँदा बैंकको कारोबारमा थप सहजता भएको बैंकले जनाएको छ। ‘बैंकको ८० प्रतिशत कारोबार अहिले डिजिटल माध्यमबाट नै हुने गरेको छ, यसले गर्दा बैंकमा भीडभाड हुने अवस्था कम भएको छ’, बैंकका एक अधिकारीले भने, ‘डिजिटल कारोबार सुरु हुनुभन्दा अघि बैंकमा ग्राहक १०–१५ दिन वा १ महिनाका लागि रकम झिक्न आउने गर्थे, अहिले डिजिटाइजेसनले गर्दा ग्राहक लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्त हुनुभएको छ।’ 

यसका साथै डिजिटल तथा रिटेल बैंकिङ सेवाले गर्दा ग्राहकमा थप उत्साह थपिएको बैंकले जनाएको छ। सेवाग्राहीसँगै बैंकका कर्मचारीलाई समेत सहजता भएको बैंकको भनाइ छ। 

आगामी दिनमा डिजिटल कारोबारलाई अझै प्रवर्द्धन गर्दै लैजाने बैंकको लक्ष्य छ। डिजिटल कारोबार प्रणालीको विकास गर्न बैंकले बैंकभित्रै छुट्टै युनिटसमेत बनाएकोे छ।

सबै पालिकासँग सम्झौता गरी डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने बैंकले योजना बनाएको छ। ‘हामीले विभिन्न क्षेत्रमा गएर वित्तीय साक्षरता कार्यक्रमहरु गरिसकेका छौँ, अब हरेक पालिकाहरुमा गएर डिजिटल कारोबार साक्षरतासम्बन्धी कार्यक्रमहरु गर्ने प्लान बनाएका छौँ’, ती अधिकारीले भने, ‘दुर्लभ स्तरमा समेत हामीले शाखा विस्तार गरेका छौँ, सोही शाखाहरुमार्फत पनि वित्तीय साक्षरतासँगै डिजिटल कारोबारको पनि जानकारी गराउनेछौँ।’ 

यसका साथै बैंकले विभिन्न योजनामा बीमाको समेत सुविधा दिँदै आइरहेको छ। ‘बैंकास्योरेन्स बन्द भएपछि बाँकी रहेका ग्राहकको बीमाको पैसासमेत हामीले बैंकबाट भुक्तानी गरिरहेका छौँ’, ती अधिकारीले भने। 

हाल बैंकले दुईवटा खातामा बीमाको सुविधा दिँदै आइरहेको बैंकले जनाएको छ। ‘सिटिजन्स संरक्षित बचत खाता’ र ‘सिटिजन्स तलब बचत खाता’मा बैंकले बीमाको सुविधा दिँदै आइरहेको छ। 

सिटिजन्स संरक्षित बचत खातामा ५० हजार रुपैयाँको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्युबीमाको व्यवस्था रहेको छ। 

त्यस्तै, सिटिजन्स तलबी बचत खातामा २५ हजार रुपैयाँको स्वास्थ्य बीमा र ३ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमाको सुविधा रहेको छ। 

हालसम्म सो खाताअन्तर्गत १२३ वटा बीमा दाबी परेकोमा ८० वटा क्लेम सेटल भइसकेको बैंकले जनाएको छ। डिजिटल र रिटेल बैंकिङमार्फत ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्ने बैंकले प्रतिबद्धता जनाएको छ।