काठमाण्डौ । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रीजी बिटिएस स्थापना गरी २०७५ वैशाख ९ गते देखि जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको हो । 

ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू–भाग र  बोबाङको केही भागमा थ्रीजी सेवा सञ्चालनमा आएको हो । 

यो बाग्लुङ सदरमुकाम देखि १ सय २४ किलोमिटरको सडक दूरीमा र करिब ३ हजार २ सय मिटर उचाईमा अवस्थित छ । अब यो सेवाबाट त्यस स्थानका करिब ५ सय जति घरधुरीका बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको सुरक्षाका लागि समेत यो सेवाले सहयोग गर्ने छ ।

त्यसैगरी डोल्पा जिल्लाको दुर्गम ग्रामीण क्षेत्र धो मा भिस्याट प्रविधि मार्फत जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ भएको छ । डोल्पा बुद्ध गाँउपालिका धो मा स्थापित विटिएसबाट त्यस स्थानका करिब २ हजार बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । यो दुनै सदरमुकामदेखि करिब ३ दिनको पैदल दूरीमा अवस्थित छ ।

सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएका टेलिकमको दाबी छ  ।स्थानीय बासिन्दाहरुले अब त्यस क्षेत्रमा पनि सहज सञ्चार सुविधाबाट पर्यटन विकासमा सहयोग पुग्ने बताएका छन् ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र  तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।