काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ चौथो त्रैमाससम्म १९ करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा यो मुनाफा गत वर्षको तुलनामा ३८२.८९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ४ करोड ७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफा ११ करोड २९ लाख रुपैयाँ रहेको छ। 

चौथो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि १२४.७७ प्रतिशतले बढेको छ। गत वर्ष १२ करोड ४५ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यो वर्ष २८ करोड रुपैयाँ हुन पुगेको छ। 

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६५ करोड ३० लाख रुपैयाँ रहेको छ। जुन गत वर्षको तुलनामा १९९.६७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंक खुद ब्याज आम्दानीबापत २१ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

बैंकले समीक्षा अवधिमा १६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले १० अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

बैंकले रिजर्भको आकार ६५.५९ प्रतिशतले बढाएको छ। गत वर्ष १७ करोड ७६ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर २९ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

बैंकको आधार दर घटेको छ। गत वर्ष १२.१९ प्रतिशत रहेको बैंकको आधार दर समीक्षा अवधिमा घटेर ९.७५ प्रतिशतमा झरेको छ। 

बैंकको खराब कर्जाको भने ह्वात्तै बढेको छ। गत वर्ष०.३४ प्रतिशत रहेको समीक्षा अवधिमा बढेर १.५३ प्रतिशत पुगेको छ। 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १०.८५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.१२ गुणा रहेको छ।