काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।

बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) प्रतिव्यक्ति बढीमा सुनका असर्फी १ सेट (१० ग्राम, ५ ग्राम, २.५ ग्राम) र चाँदीका सिक्का (मेडालियन) १ सेट (गाईअंकित २५ ग्राम, गाईअंकित १० ग्राम, लक्ष्मीअंकित १० ग्राम, गणेशअंकित १० ग्राम, गजलक्ष्मीअंकित १० ग्राम) बिक्रीको प्रबन्ध मिलाइएको जानकारी दिएको छ ।

बैंकले उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्युआरमार्फत भुक्तानी गर्न सकिने  जानकारी दिएको छ ।

तिहारमा सुनको असर्फी र चाँदीका मेडालियन सिक्का अभाव नहुने गरी मौज्दात रहेको राष्ट्र बैंक टक्सार महाशाखाले बताएको छ ।

केन्द्रीय बैंकले उक्त अवधिसम्ममा हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्ने तयारी भइरहेको बताएको छ ।

नेपाल राष्ट्र बैंकले बिक्री गर्ने सुन तथा चाँदीका असर्फी र सिक्का मुद्रा व्यवस्थापन विभाग अन्तरगतको टक्सार महाशाखा तथा प्रदेशस्थित कार्यालयहरूबाट खरिद गर्न सकिन्छ ।

सुन तथा चाँदीको यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पूजाको दिनमा घरमा पूजा गर्ने चलन छ ।