काठमाण्डौ । सेयर बजारको कारोबार आइतबारका लागि स्थगित गरिएको छ । 

बजार खुलेदेखि नै उछालको गतिमा दौडिएको नेप्सेमा तेश्रोपटक सर्किट लागेसँगै आजका लागि सम्पूर्ण कारोबार रद्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको हो । 

आज कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लगाउँदै २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 

त्यसपछि खुलेको बजार पुनः केही मिनेटभित्रै ५ प्रतिशतले बढेपछि फेरि कारोबार स्थगित गरी दोश्रोपटक सर्किट लगाइएको थियो । 

दोश्रो सर्किटपछि ४० मिनेटका लागि स्थगित भएको बजारमा कारोबार पुनः सुरु भएको केही मिनेटमै उछालको गतिमा दौडिएर ६ प्रतिशतको बढोत्तरीसँगै तेश्रो पटक सर्किट लगाउँदै नेप्सेले आजको बाँकी अवधिको कारोबार रद्द गरेको जनाएको हो । 

नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ को विन्दूमा पुगेको छ । 

यो अवधिमा ४८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । 

बजारमा १३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ भने २२ वटाभन्दा बढीको कम्पनीको पनि सर्किट लेभलमै कारोबार भएको छ । 

कुल २२७ कम्पनीले कमाएको यो दिन ३ म्युचुअल फण्ड र २ वटा लघुवित्तको सेयरमूल्य मात्र घट्न पुगेको थियो । 

कुन उपसमूहमा कति प्रतिशतको उछाल ?
यो दिन हाइड्रोपावर उपसमूहकाको सूचक ८.६३ प्रतिशतले बढ्न पुगेको छ । 

त्यसपछि होटल र टुरिजम समूह करिब ७ प्रतिशत, विकास बैंक र वित्त समूहमा समान ६.५९ प्रतिशत, बैंकिङ समूह ५.६८ प्रतिशतको उछाल देखिएको छ । 

लगानी समूह ६.४९ प्रतिशतले बढेको यो दिन जीवन बीमा समूह ५.३० र निर्जीवन बीमा समूह ५.२२ प्रतिशतले बढ्न पुग्यो । 

ट्रेडिङ समूहको उपसूचक ५.८७, उत्पादन समूह ४.८०, माइक्रोफाइनान्स ५.६५, अन्य समूह ४.५१ र म्युचुअल फण्ड ०.२१ प्रतिशतले बढे ।