काठमाण्डौ ।स्तरीय होटल खोल्ने र पर्यटकीय सेवा दिने क्रम बढेसँगै मुलुकमा पाँचतारे होटलको संख्या बढ्न थालेको छ। हाल पाँचतारे होटलको संख्या १८ ओटा पुगेको छ ।

पर्यटन विभागले सार्वजनिक गरेको वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एउटा र पाँचतारे स्तरको होटल संख्या १७ पुगेको छ ।

काठमाडौं उपत्यकामा ११ वटा र उपत्यका बाहिर सातवटा छन् ।विश्वभर होटलको स्तर यी भन्दा माथिल्ला पनि हुन्छन् तर नेपालमा पाँचतारे होटल नै सबैभन्दा माथिलो स्तरको हो । त्यसो त केहि वर्षदेखि मुलुकमा अन्तरराष्ट्रिय होटल चेन ब्राण्डमा होटल खुल्ने क्रम पनि बढेको  छ।

 

हाल सञ्चालनमा रहेका पाँचतारे होटेलमा २ हजार ८७७ कोठा र ४ हजार ३४५ वटा बेड रहेको छ ।नेपालमा रहेका कुल पाँचतारे होटलले ३ हजार ८६८ जनालाई प्रत्यक्ष रोजगारी दिएको देखिएको छ ।

पाँचतारे होटलमध्ये बढी रोजगारी सिर्जना गर्नेमा सोल्टी होटल र तारागाउँ रिजेन्सी (हायात रिजेन्सी) रहेको छ । ती दुई होटले क्रमशः ५५० र ४१० जनाभन्दा बढीलाई रोजगारी दिएका छन् । भैरहवा, नेपालगञ्ज, झापा लगायत अन्य स्थानमा पनि ठूलो लगानीमा पाँचतारे स्तरका होटलहरु धमाधम निर्माण भैरहेका छन् ।

पछिल्लो समय नेपालमा बढ्दै गएको विदेशी पर्यटकको संख्यासँगै होटल निर्माणले गति लिएको हो। काठमाण्डौ बाहेक थपिएका कतिपय होटलहरु काठमाण्डौ बाहिरका हुन्। यसअघिका पाँचतारे होटलहरु अधिकांश काठमाण्डौमा मात्रै सीमित थिए। पछिल्लो समय काठमाडौंसँगै बाहिर पनि व्यावसायिक आकर्षण देखिएको छ।
नेपालको पहिलो पाँचतारे होटल डेला अन्नपूर्ण
नेपालको पहिलो पाँचतारे होटेल दरबारमार्गस्थित डेला अन्नपूर्ण हो । यो होटेल तत्कालीन अधिराजकुमारी हेलेन शाहको अगुवाइमा सन् १९६५ बाट सञ्चालनमा आएको हो । सुरुमा पाँचतारे खोल्ने सोच नभए पनि, दरबारले निम्त्याएका विदेशी पाहुना राख्न लक्जरी अपार्टमेन्ट खोलिएको थियो । 

दरबारमा आयोजना हुने शुभकार्यमा अक्सर विदेशी विशिष्ट पाहुना निम्त्याइन्थ्यो । राजाको राज्याभिषेक, राजपरिवारका छोराछोरीको विवाह, भोजमा विदेशी पाहुना आउँथे ।

काठमाण्डौमा लक्जरी होटेलको आवश्यकतालाई ध्यानमा राखेर पाँचतारे अन्नपूर्ण होटेल खोलिएको थियो । तर, कोरोना महामारी पछि उक्त होटल बन्द छ ।