काठमाण्डौ । सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने सेयर दलालको कमिशन अन्तत : घट्ने भएको  छ।

लगानीकर्ताको गुनासोलाई ध्यानमा राख्दै नेपाल धितोपत्र बोर्डले दलाल(ब्रोकर) कमिशन र आफ्नो शुल्क घटाउने निर्णय गरेको हो ।

धितोपत्र बोर्डको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने दलाल कमिशन र बोर्ड शुल्क  घटाउने निर्णय गरेको हो ।

बोर्ड स्रोतका अनुसार बैठकले हाल कायम रहेको दलाल कमिशन र बोर्ड शुल्कमा समग्रमा  १०/१० प्रतिशतले घटाउने निर्णय गरेको छ । 

उक्त निर्णय स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाइने  स्रोतले बताएको छ। स्रोतका अनुसार अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि घटेको दलाल कमिशन र बोर्ड शुल्क लागू हुनेछ।

अध्ययन समितिको सिफारिस अनुसार नै दलाल कमिशन घटाउने निर्णय भएको बोर्ड स्रोतले जनाएको छ । यसअघि बोर्डले साढे २ वर्षअघि दलाल कमिसन घटाएको थियो ।

बोर्डको सञ्चालक समितिले गरेको निर्णयको विस्तृत विवरण भने प्राप्त भएको छैन ।कमिसन घटाउने निर्णय कार्यान्वयन भएमा लगानीकर्ताले प्रत्यक्ष लाभ पाउने छन् ।

बजारमा लगानीकर्ताको मनोबल उकास्नको लागि कमिसन र शुल्क घटाउने निर्णय गरिएको  बोर्ड स्रोतले बताएको  छ।

पछिल्लो समय लगानीकर्ताले दलाल कमिशन घटाउन माग गर्दै आएका थिए ।

बजार घटेका कारण अहिले दैनिक औसत अर्ब रुपैयाँको  कारोबार हुने गरेको  छ।