काठमाण्डौ । कतिपय नीतिगत व्यवधानहरु नहटाइदिएपछि सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको चर्को आलोचना गरिरहेका छन् । 

जथाभावी ढंगले कमजोर कम्पनीलाई समेत प्रिमियमा आइपीओ जारी गर्न र हकप्रदको धमाधम स्वीकृति दिएपछि सप्लाई बढाएर दोश्रो बजारको लय बिगारेको भन्दै धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको पनि कम आलोचना भएको छैन । 

ओठे प्रतिबद्धता मात्र गर्ने, सेयर कर्जामा लागेको १२ करोडको सीमाको मात्र कुरा गर्ने, सेयर बजार सुधारका बाँकी अजेण्डामा फोकस नभएको भन्दै पछिल्लो समय अर्थमन्त्री डा. प्रकाशशरण महतको समेत आलोचना हुन थालेको छ । 

राष्ट्रबैंक, धितोपत्र बोर्ड र अर्थमन्त्रालयको पछिल्लो कार्यशैलीप्रति रुष्ट लगानीकर्ता आन्दोलनको मूडमा छन् । त्यसका केही पूर्वतयारीहरु पनि हुन थालेका छन् । यसरी पूर्वतयारीका लागि भएका बैठकहरुमा लगानीकर्ताकै नेताहरुले सरकारका यी तीन निकाय मात्र नभई लगानीकर्ता स्वयम् पनि बजारलाई प्यानिक बनाउने कुरामा दोषी रहेको बताउन थालेका छन् । धर्के(प्राविधिक विश्लेषक)को पछि लागेर बजारमा खरीदबिक्रीको निर्णय गर्दा र अत्यन्त छिटो नाफाको आशा गरेर लगानी गर्दा समेत बजार प्यानिक भएको भन्दै कतिपय आफ्नै साथीभाईप्रति पनि आक्रोशित देखिए । 

शुक्रबार केही लगानीकर्ताहरु भावी आन्दोलनको विषयमा छलफल गर्न भृकुटीमण्डपमा भेला भएका थिए । सो क्रममा लगानीकर्तालाई सम्बोधन गर्ने क्रममा उपेन्द्र पाठकले लगानीकर्ताहरुको समेत बजार घट्नुमा दोष रहेको भन्दै थर्काए । 

‘सेयर किनेर खातामा आएको छैन । हामीलाई नाफा चाहिने ? ७२ घण्टामा राम्रै नाफा भइदिनुपर्ने ? यस्तो पनि कहीँ हुन्छ ?’ आक्रोशित हुँदै उनले भने–‘साथीहरु नरिसाउनुहोला, यी धर्केहरु पनि हुन् बजारलाई आजको अवस्थामा पुर्याउने । त्यस्ता धर्केहरुको पछि लाग्ने तपाई हामी स्वयम् पनि बजार बिगार्ने कारक पात्र हौं ।’ 

उनले धर्केहरुको पछि लाग्ने हो भने सेयर बजारमा लगानी नगर्न समेत आग्रह गरे । ‘त्यस्ता व्यक्ति लंगुरबुर्जा खेल्न गए हुन्छ । ७२ घण्टामै नाफा खानुपर्ने हो भने त्यो पनि सेयर बजारबाट सम्भव छैन।’ उनले थपे–‘नयाँ ब्रोकरहरु पनि बाइ एण्ड सेल भन्दै हल्ला गरेर बसेका छन् । लगानीकर्ता ‘होमा हो’ गर्दै कुदेका छन् । त्यसकारण नियामकको मात्र होइन, हामीले पनि बिगारेका छौं बजारलाई । स्टप लस भनेर सिकाइएको छ ।’ 

उनले राम्रो नीतिगत व्यवस्था नभई टेक्निकल एनालिसिसले काम नगर्ने समेत ठोकुवा गरे । ‘टेक्निकलका साथीहरुसँग ज्ञान होला, पढ्नुभएको होला, चित्त दुख्ला तर नीति नबनी तपाईको धर्काले काम गर्दैन ।’ उनले भने–‘यस्तै हो भने पूँजीबजारले हजारौं मान्छेलाई पलायन गराउँछ ।’  

उनले धेरै लगानीकर्ताले आफूले सहनसक्ने क्षमताभन्दा बढी ऋण गरेर लगानी गर्दा समेत अवस्था दयनीय बनेको दाबी गरे । ‘बजार घट्दा पनि मसँग सहनसक्ने क्षमता राखेको छु, त्यसकारण अहिलेको गिरावटले मलाई केही फरक पार्दैन । अहिले जसरी जति घटेको छ, त्योभन्दा बढी बढेको देखेको छु ।’ उनले भने–‘आफ्नो क्षमताअनुसार लगानी गर्ने गरौं । टेक्निकल एनालिसिस फलो गर्नु गलत हो । यसकै कारण हामी फसेका छौं ।’ 

पाठकले अर्थमन्त्रालय, राष्ट्रबैंक र धितोपत्र बोर्डलाई सहमतिमा ल्याउन आवश्यक रहेको र यसका लागि दवाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

‘गभर्नर रिसाए, धेरै नचिढ्याऊ’
सो कार्यक्रममा बोल्दै सेयर बजारमा ‘काका’ उपनामले चिनिएका केशव कोइरालाले समस्या समाधानका लागि दवाबमूलक कार्यक्रम आवश्यक रहेको र अब हुने आन्दोलनमा गभर्नरलाई मात्र तारो बनाउन नहुनेतर्फ सचेत गराए । 

लगानीकर्ताहरुको कटु आलोचना र सामाजिक सञ्जालमा चलेका विभिन्न अभियानहरुका कारण गभर्नर लगानीकर्ताहरु थप रुष्ट बनेका दाबी गर्दै उनले भने–‘हामीसँग गभर्नर धेरै नै रुष्ट बनेका छन् । उनलाई थप चिढ्याउने काम नगरौं । संयम बनेर अगाडि बढौं ।’ 

अर्का लागनीकर्ता हरिकुमार कार्कीले हातखुट्टा बाँधेर ‘बजारलाई हिँड’ भनिएको भन्दै आक्रोश व्यक्त गरे । 

बजार ३२०० पुग्दा केन्द्रीय बैंकले धेरै लगाम लगाएको र अहिले पनि ती व्यवस्थाहरु यथावत हुँदा लगानीकर्ताको मनोबल दिनप्रतिदिन कमजोर बनिरहेको उनको भनाई थियो । 

‘त्यसबेला १२ करोडको लगाम लगाइयो। प्रणालीमा पैसाको एक्सेस भएपछि त्यो खोल्नुपर्ने, त्यो कुरा उहाँ(गभर्नर)ले गर्नुहुन्न ।’ उनले भने–‘सेयर कारोबारमा बैंकहरुलाई केही प्रतिबन्धित व्यवस्थाहरु लादियो, माइक्रोफाइनान्सको लाभांशमा संकुचन गर्ने काम गरियो । १५० प्रतिशतको रिस्क वेटेजलाई घटाइएन ।’ 

उनले अर्थमन्त्रीले आफ्ना भाषणहरुमा लगातार ‘लगानीकर्तालाई डूब्न दिंदैनौं’ भनेका, तर पोलिसी चेञ्जमा पर्याप्त प्रयास नगरेका आरोप लगाए । ‘अर्थमन्त्री ज्यूले भाषण मात्र गर्ने होइन, राष्ट्रबैंक र धितोपत्र बोर्डलाई त स्ट्रीक्ली निर्देशन दिन सक्नुपर्छ । एक्सनमा जान सक्नुपर्छ ।’ उनले भने–‘उहाँ जहिल्यै १२ करोडको सीमाको विषयमा मात्र बोल्नुहुन्छ । बजारका योभन्दा गम्भीर बग्रेल्ती समस्या छन् । ती समाधान गरी बजारमा डिमाण्ड क्रियट गर्नेतर्फ उहाँको ध्यान छैन जस्तो लाग्यो ।’

राष्ट्रबैंकले सेयर बजारलाई जताततैबाट निषेध गरेको दाबी गर्दै उनले धितोपत्र बोर्ड पनि अहिलेको अवस्था आउनुमा कम दोषी नरहेको बताए । ‘जस्तोपायो त्यस्तो कम्पनीलाई प्रिमियमा आइपीओ निकाल्न दिइएको छ । हकप्रद निश्कासनको स्वीकृति दिने विषयमा उस्तै मनपरी छ ।’ उनले भने–‘आइपीओ र हकप्रदको बाढी केही समयका लागि रोकिनुपर्छ ।’ 

उनले मन्दीका कारण बजार घटेको भनेर लगानीकर्तालाई बेवकुफ नबनाउन पनि स्वघोषित विश्लेषकहरुलाई चेतावनी दिए । ‘मन्दी त श्रीलंका, पाकिस्तान, जापान र कोरियामा पनि आएको छ । तर त्यहाँको सेयर बजार त बढिरहेकै छ त । हाम्रोमा मात्र किन घटिरहेको ?’ प्रश्न गर्दै उनले भने–‘फलानो गभर्नर रिसाउला कि, सेबोन अध्यक्ष पो रिसाउला कि भनेर बसियो भने केही हुन्न । अब लगानीकर्ता एकजुट हुनुपर्छ भौतिक रुपमै । फेसबुकमा मात्र कराए पनि केही हुन्न ।’ 

युवा लगानीकर्ता नयन बास्तोलाले सेबोन अध्यक्ष, अर्थमन्त्री र प्रधानमन्त्रीसम्मलाई भेटेर समस्याको विषयमा जानकारी गराई दवाब दिनुपर्नेमा जोड दिए ।