काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ इन्डेक्स ‘नेप्से–३०’बारे छलफल भएको छ। 

सेबोनको कार्यालयमा गत आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सेबोनका अधिकारीहरुबीच नेप्से–३०बारे छलफल भएको हो। छलफलका क्रममा नेप्सेको टोलीले नेप्से–३०को प्रिजेन्टेसन पनि गरेको गरेको थियो। ‘सेबोनबाट नेप्से–३० ल्याउनेमा पोजिटिभ संकेत आउलाजस्तो छैन’, नेप्सेका एक अधिकारीले भने, ‘अब त्यहीअनुसारको रिपोर्टिङ गरेर नेप्से सञ्चाल समितिमा पेस हुन्छ।’

सेबोन नेप्से–३० ल्याउनुपर्नेमा सकारात्मक नभए पनि नेप्सेले यस विषयमा निर्णय लिन सक्ने पनि ती अधिकारीले बताए। ‘हामी परामर्श लिन नेप्से–३०को कार्यविधि २ साताअघि नै पठाएका थियौँ, अस्ति सेबोनले छलफलमा डाक्यो, सेबोनका अधिकारीहरुले केही दिनमा खबर गरौँला भनेका छन्’, ती अधिकारीले भने, ‘सेबोनको जस्तोसुकै परामर्श आए पनि वा नआए पनि नेप्से–३० सञ्चालनमा ल्याउने निर्णय नेप्सेले नै गर्ने हो। त्यसैले नेप्से सञ्चालक समितिले यस विषयमा निर्णय लिनेछ।’

अहिले नेप्से–३० इन्डेक्सको परीक्षण राम्रो ढंगले अगाडि बढिरहेको ती अधिकारीको भनाइ छ। ‘अहिले छनोट गरिएको ३० वटा कम्पनीको रियल टाइमको डाटा फिट गरेर इन्डेक्सको मुभमेन्ट हेर्ने काम भइरहेको छ’, ती अधिकारीले भने।

अब नेप्सेको सञ्चालक समितिले नेप्से–३० इन्डेक्स सञ्चालन ल्याउने मिति तय गर्ने पनि ती अधिकारीले बताए। ‘सेबोनबाट के कुरा आउँछ हेरौँ, त्यसपछि नेप्सेको सञ्चालक समितिले मिति तय गरेपछि नेप्से–३० इन्डेक्स सञ्चालनमा आउँछ’, ती अधिकारीले भने, ‘सम्भवतः साउनभित्रै नेप्से–३० सञ्चालनमा आउन सक्छ।’

नेप्से उपसमूहमा रहेका १३ वटा समूहलाई ६ वटामा समायोजन गर्दै नेप्से–३०मा समावेश गरिने कम्पनीहरुको छनौट गरिएको छ। ती ६ वटा समूहबाट अधिकतममा ८ वटा र कम्तीमा १ कम्पनी समावेश गरिएको छ। 

नेप्सले उपसमूहमा समायोजन गर्दै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई एउटै समूहमा राखेको छ। यो समूहबाट ८ वटा कम्पनी नेप्से–३० इन्डेक्सका लागि छनौट गरिएको छ। 

यसैगरी जीवन र निर्जीवन बीमालाई एउटै समूहमा राखिएको छ। यो समूहबाट ५ वटा कम्पनी छनौट गरिएको छ। 

त्यस्तै अन्य, होटेल तथा पर्यटन र कारोबारबाट एउटा समूह तयार गरिएको थियो। यो समूहबाट ३ वटा कम्पनी छनौट गरिएको छ। 

लघुवित्त समूहबाट ७ वटा, जलविद्युत समूहबाट ५ वटा र उत्पादन तथा प्रशोधन समूहबाट २ वटा नेप्से–३० इन्डेक्समा समावेश गरिएका छन्।