काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले अर्को कार्यकालका लागि आफू नदोहोरिने संकेत गरेका छन्।

धितोपत्र ब्रोकर एसोसिएसन नेपालले आज काठमाण्डौमा नयाँ ब्रोकर कम्पनीहरुको स्वागतमा गरेको कार्यक्रममा अध्यक्ष हमालले यस्तो संकेत गरेका हुन्। ‘अब सेबोनमा मेरो कार्यकाल धेरै बाँकी छैन’, उनले भने, ‘मैले सरकारसँग अर्को कार्यकालका लागि दोहोरिन कमिटमेन्ट पनि गरेको छैन। त्यसैले फेरि अर्को कार्यकालका लागि म नदोहोरिन पनि सक्छु।’

आफ्नो कार्यकालमा पुँजीबजारको विकास र विस्तारका लागि आफूले सक्दो प्रयास गरेको पनि अध्यक्ष हमालले बताए। ‘केही काम भएका छन् तर अझै धेरै काम गर्न बाँकी छ’, उनले भने, ‘मेरो कार्यकाल थोरै बाँकी छ तर अझै केही काम गरेर नै जान्छु।’

आफू अन्य व्यापार–व्यवसायमा पनि आबद्ध रहेकोले सेबोनमा फेरि अध्यक्ष रुपमा कार्यकाल दोहोर्याउने सम्भावना कम रहेको हमालले बताए।