काठमाण्डौ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल अबको करिब- करिब ४० दिन पछि सकिदैछ । 

२०७८ फागुन ५ गतेदेखि बोर्डको आठौं अध्यक्ष हुने अप्रत्याशित मौका पाएका हमाल आफ्नो कार्यकालको २२ महिना बिताएर बाहिरिन लागेका हुन् । हुन त धितोपत्र बोर्ड अध्यक्षको कार्यकाल चार वर्ष हुने कानूनी व्यवस्था छ । तर हमाल भने चार वर्ष बोर्ड अध्यक्षको रुपमा रहन पाएनन्।

तत्कालीन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई इन्साइडर ट्रेडिङमा मुछिएको भन्दै सरकारले बर्खास्त गरेको थियो । उनको बाँकी कार्यकाल पुरा गरेर हमाल बाहिरिन लागेका हुन् । उनै हमाल हुन् जसको पालामा पूँजीबजारका क्षेत्रमा केहि राम्रा काम पनि भएका छन् ।

यतिमात्र होइन, उनै हमाल जो जाँदाजाँदैे बीमा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिएको अपजश बोकेर बाहिरिन थालेका छन् । अर्थात् उनी आगामी पुस २२ गतेसम्म पदमा रहने छन्।दिनको हिसाब गर्दा उनी अब करिब ४० दिन पछि बिदा हुनेछन्। 

यतिखेर बोर्डको नेतृत्वमा निकट व्यक्ति पुर्‍याउन व्यावसायिक घरानाबीच तिब्र रुपमा लवीईङ भइरहेको छ ।नयाँ स्टक एक्सचेन्जका लागि ठूला व्यावसायिक घरानाबीच प्रतिस्पर्धा भएसँगै अध्यक्षको नियुक्तिमा राजनीतिक लवीईङ सुरु भएको स्रोतले बताएको छ ।

बोर्डको अध्यक्षका लागि अहिले पाँच जनाको नाम चर्चामा छ। वर्तमान अध्यक्ष हमाल आफ्नो काम नसकिएको र पूर्ण कार्यकाल पनि खान नपाएको भन्दै एक पटक दोहोरिने दाउमा छन् भने धितोपत्र बोर्डकै पूर्वकार्यकारी निर्देशक डा नवराज अधिकारी र कृष्णराज पोखरेल पनि दौडमा  छन् ।

त्यसोत, बोर्डको अध्यक्ष हुन तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाइँ र नेपाल स्टक एक्सचेञ्जका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि इच्छुक रहेको बताइएको छ ।

यसअघि उक्त पदका लागि १५ जनाको आवेदन परेको थियो ।  जसमा डा गोपाल भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जिवि चापागाईं, डा नवराज अधिकारी, अम्बिकाप्रसाद शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा जीवन अंगाई, रमेशकुमार हमाल, सीताराम थपलिया, डा केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, नीरज गिरी र हेमन्त वस्याल थिए ।

हुन त अध्यक्ष हमालले अर्को कार्यकालका लागि आफू नदोहोरिने संकेत यसअघि नै गरिसकेका छन् ।धितोपत्र ब्रोकर एशोसिएशन नेपालले केहि समयअघि गरेको कार्यक्रममा उनले भनेका थिए,  ‘मैले सरकारसँग अर्को कार्यकालका लागि दोहोरिन कमिटमेन्ट पनि गरेको छैन। त्यसैले फेरि अर्को कार्यकालका लागि नदोहोरिन पनि सक्छु।’

सकेसम्म अध्यक्ष हमाल जाँदाजाँदै नयाँ स्टक एक्सचेञ्ज र कमोडिटि एक्सचेन्जको लाइसेन्स दिएर जाने विचारमा छन्। यदि यसो हुन नसकेमा भने उनी पुन: सोही पदमा फर्किने विचारमा रहेको स्रोत बताउँछ ।