काठमाण्डौ । लामो समयदेखि सुस्ताएको धितोपत्र बजारमा अघिल्लो सातादेखि रौनकता आएको छ ।

अझ भन्ने हो भने त साताको तेस्रो कारोबार दिन बुधबार लामो समयपछि करिब १० अर्व रुपैयाँको कारोबार भएको छ । 

तर नियामक नेपाल धितोपत्र बोर्ड भने अध्यक्ष नभएको कारण शक्तिविहिन छ । बोर्डमा कसैलाई पनि  दैनिक प्रशासनिक कार्य चलाउने बाहेक कुनै पनि कार्य गर्ने अधिकार  छैन ।

बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमालले आफू बाहिरिंदै गर्दा कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दैनिक प्रशासन चलाउने गरि जिम्मा दिइएका थिए। 
 
यहि मौका छोपेर दोस्रो बजारमा खेलाडीले अस्वभाविक रुपमा ‘लो क्याप’ भएका र धेरैजसो सूचक नकारात्मक भएका कम्पनीको सेयरमूल्यलाई दैनिक रुपमा उचालिरहेका छन् । यसले सोझासाझा सिधै फस्ने निश्चित जस्तै छ ।

यति हुँदा पनि सरकारले धितोपत्र बोर्डमा कार्यरत कुनै पनि अधिकारीलाई विश्वास नभएपछि निमित्त पनि नदिएको स्रोत बताउँछ । स्रोतका अनुसार निमित्तको समेत अधिकार नहुँदा दैनिक कार्यसञ्चालन बाहेक अरु काम अबरुद्ध छन् ।

यतिमात्र नभइ प्राथमिक सेयर निस्कासनको अनुमतिदेखि लिएर कुनै पनि हकप्रद तथा एफपीओको प्रक्रियासमेत अगाडि बढ्न सकेको छैन ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष हमालले जाँदाजाँदै रिलायन्स स्पिनिङ मिल्सलाई बुक विल्डिङ विधिबाट प्रथामिक सेयर निस्कासनको अनुमति दिएका थिए । 
 

अहिले बोर्डमा कसलाई निमित्त दिने र कति अधिकारसहित निमित्त दिने विषयमा नै अर्थ मन्त्रालय नै अन्योलमा  रहेको स्रोतले बतायो ।

धितोपत्र बोर्डमा सबैभन्दा वरिष्ठ व्यक्तिलाई नै निमित्त दिनुपर्ने  प्रावधान छ । तर बोर्डमा कार्यसम्पादनको आधारमा हाल सबैभन्दा वरिष्ठ कर्मचारीको रुपमा नबराज अधिाकारी छन् ।स्रोतका अनुसार अर्थमन्त्रालय स्वयं नै नवराज अधिकारीलाई कार्यकारी अधिकार दिन अनिच्छुक रहेको छ ।

तर अर्थमन्त्रालयका प्रवक्ता धनिराम शर्माले छिट्टै धितोपत्र बोर्डमा वरिष्ठ  व्यक्तिलाई नै निमित्तको अधिकार दिने गरि गृहकार्य भइरहेको बताए । उनका अनुसार धेरै लामो समयसम्म बोर्डको अध्यक्ष रिक्त राख्न नहुने भएकाले छनोट समिति बनाउन पनि मन्त्रालयले क्याविनेटमा सिफारिस गरिसकेको छ ।

उनले भने, ‘अध्यक्ष छनौटका लागि समिति बनाउने निर्णय भएको छ । अब सबै काम छिट्टै अगाडी बढ्छ।’