काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले सतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।

बैंकले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै असार ४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। 

धितोपत्र बोर्डबाट अनुमति पाएमो नारायणी डेभलपमेन्ट बैंकले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। यो हकप्रद कुल १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँबराबरको हुनेछ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

यसअघि नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकको हकप्रद निष्कासनमा कटौती गरेको थियो। 
यो बैंकले राष्ट्र बैंकसमक्ष १ः२ अनुपातमा हकप्रद निष्कासनका लागि स्वीकृति मागेको थियो। तर, राष्ट्र बैंकले जेठ २० गते पत्र पठाउँदै नारायणी डेभलपमेन्ट बैंकको मागमा १०० प्रतिशत कटौती गर्दै १ः१ अनुपातमा मात्रै हकप्रद निष्कासन अनुमति दिएको थियो।

नारायणी डेभलपमेन्ट बैंकको वर्ष माघ १६ गते सम्पन्न १९ औँ वार्षिक साधारणसभाले १ः२ अनुपातमा हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरेको थियो। सोहीअनुसार बैंकले हाल कायम चुक्तापुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः२ अनुपातमा हकप्रद निष्कासन गर्न राष्ट्र बैंकको स्वीकृति मागेको थियो। 

यो बैंकले गत वर्ष माघ १३ गतेदेखि फागुन ३ गतेसम्म सतप्रतिशत हकप्रद निष्कासन गरेको थियो।