 
                     
                                    काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले आफ्ना सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७८–७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।
विगत ३८ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले यस वर्ष पनि ‘क’ वर्गका बैंकहरुमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ।
साधरणसभाले संस्थापक सेयरधनी समूहतर्फका ३ पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ।
नबिल बैंक आ.व. २०७८–७९ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गर्न सफल भएको बैंक हो। समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात बैंकको चुक्तापुँजी यस वर्ष रु.२७ अर्ब नाघेको छ।
नबिल बैंकले नेपालको बंैकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरुलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए। बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता गरे।
बैंकले स्थापनाकालदेखि हालसम्म रु. १९ अर्बभन्दा बढी रकम करको रुपमा देशको राजश्वमा योगदान गरिसकेको छ।
नबिल बैंकले २४० वटा शाखा, २७५ वटा एटीएम र ८ वटा रेमिट एजेन्टका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालासँगै अघि बढ्ने विश्वास राखेको छ। बैंकको साधारणसभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने सेयरधनी तथा सम्बद्ध सबै निकायप्रति सभाबाट आभार प्रकट गरिएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19