काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज ल्याउनकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकाल अझै १ वर्ष थप्न लबिङ सुरु गरेका छन्। 

सेबोनमा हमालको कार्यकाल आउँदो पुस १८ गते सकिँदैछ। समय कम रहेकै कारण हमालले अहिले कार्यकाल थप गर्न राजनीतिक शक्तिकेन्द्रहरुमा तीव्र लबिङ गरिरहेको सेबोन स्रोत बताउँछ। ‘प्रतिनिधिसभाको अर्थ समितिबाट नयाँ स्टक एक्सचेन्ज ल्याउन क्लिन चिट पाइसकेको अवस्था थियो। तर, पछि सरकारले नै तत्कालका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया रोक्न निर्देशन दिएको थियो’, स्रोतले भने, ‘अहिले भने अर्थमन्त्री र प्रधानमन्त्री पनि नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्नेमा पोजिटिभ रहेका सुनिन्छ। त्यसैले हमालले आफू सुरु गरेको काम सकेरमात्रै सेबोनबाट बिदा हुने मनस्थितिमा देखिन्छ।’

नयाँ स्टक एक्सचेन्ज अहिले आवश्यक नरहेकोमा चौतर्फी आवाज उठेपछि सरकारले यो प्रक्रिया रोक्न सेबोनलाई निर्देशन दिएको थियो। अहिले फेरि प्रधानमन्त्री र अर्थमन्त्री नै नयाँ स्टक एक्सचेन्ज ल्याउने कुरामा सकारात्मक रहेको भन्ने कुराले ठूलै आर्थिक चलखेलको हुन सक्ने अनुमान गर्न सकिने स्रोत बताउँछ। 

सेबोनले गत वर्ष असोजमा नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जका लागि आवेदन खुला गरेको थियो। तर, नयाँ व्यापारिक लाइसेन्सविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्ज लाइसेन्सका लागि आवेदन स्थगित गरिएको थियो। पछि फेरि अदालतले यो प्रक्रियालाई अगाडि बढाउन ग्रीन सिग्नल दिएको थियो। 

त्यसपछि गत वैशाख १० गतेसम्म सेबोनमा नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जका आवेदन खुला गरिएको थियो। यो अवधिमा नयाँ स्टक एक्सचेन्जका लागि ३ वटा र कमोडिटिज एक्सचेन्जका लागि ४ वटा आवेदन परेको थियो। 

नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए। 

नेसनल स्टक एक्सचेन्ज गैरआवासीय नेपाली तथा नेपालकै केही व्यापारिक घरानाको लगानी रहेको छ। दीपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको यो कम्पनीमा एनआरएनहरुको लगानी रहेको छ। कम्पनीमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने तथा हालका अध्यक्ष कूल आचार्य, बद्री केसीलगायतको लगानी रहेको स्रोत बताउँछ। यसमा केडिया समूहलगायतका व्यापारिक घरानाको पनि लगानी रहेको छ। 

हिमालयन स्टकमा हिमालयन रि–इन्स्योरेन्सका लगानीकर्ताहरुको नै मुख्य लगानी रहने गरी बोर्डमा आवेदन परेको हो। हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुपका शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाका साथै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगर, ज्योति समूहका शौरभ ज्योतिलगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी रहेको छ। यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ। 

नयाँ स्टक एक्सचेन्जका लागि ३ अर्ब रुपैयाँ चुक्तापुँजी चाहिन्छ। कुल चुक्तापुँजीको ३० प्रतिशत साधारण सेयर जारी गर्नुपर्छ। आवेदन परेकामध्ये एउटालाई मात्रै सेबोनले लाइसेन्स दिने पाउँथ्यो। तर, सरकारले रोक्न भने अहिले लाइसेन्स वितरणको प्रक्रिया रोकिएको छ। 

नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिएका कम्पनीमध्ये हिमालयन र नेसनलका तर्फबाट दीपक भट्ट र दीपक तिमिल्सिनाले पनि सरकारसँग लबिङ गरिरहेको स्रोत बताउँछन्। ‘यही दुईवटा कम्पनीलाई एउटै बनाएर नयाँ स्टक एक्सचेन्ज ल्याउन दिने पक्षमा सरकार रहेको देखिन्छ’, स्रोतले भन्यो, ‘हमालमार्फत नै नयाँ स्टक एक्सचेन्ज ल्याउने योजनामा सरकार पनि छ।’

स्रोतका अनुसार अहिले हमाललाई विभिन्न व्यवसायमा संलग्न छन्। उनको लगानीमा काभ्रेको धुलिखेल दुसित थानी हिमालयन रिसोर्ट सञ्चालनमा रहेको छ। 

हमालको कार्यकाल थपिने लगभग निश्चित नै रहेको स्रोत बताउँछन्। ‘तर, कार्यकाल थपिए पनि उनी १ वर्षभित्रै नयाँ स्टक एक्सचेन्ज ल्याएर सेबोनबाट बाहिरिने सक्ने सम्भावना पनि उत्तिकै छ’, हमालनिकट स्रोत भन्छ, ‘किनकि हमालका अन्य व्यापार–व्यवसाय पनि छन्। त्यतातिर पनि समय दिनुपर्ने उनको कुरा छ।’