काठमाण्डौ । सरकारले नयाँ स्टक एक्सचेन्ज सञ्चालन ल्याउने बाटो खुला गरिदिएको छ। 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले संशोधन गरी पठाएको धितोपत्र सञ्चालन नियमावली, २०६४को मस्यौदा स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउने बाटो खुला भएको हो। सेबोनले यसअघि नियमावलीमा संशोधन गर्दै प्रस्तावित मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थ मन्त्रालयले संशोधित नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरेको थियो। 

अब सेबोनले संशोधित नियमावलीअनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालनका अनुमति दिने प्रक्रिया अगाडि बढाउनेछ। ‘मन्त्रिपरिषदबाट संशोधित नियमावली स्वीकृत भएको जानकारी प्राप्त भएको छ तर त्यसको माइन्युट सेबोनमा आइपुगेको छैन’, सेबोन स्रोतले भन्यो, ‘सायद मन्त्रिपरिसदको स्वीकृतिसहितको माइन्युज आज आउँछ कि। त्यसपछि सेबोनले आवश्यक प्रक्रिया अगाडि बढाउँछ।’ 

संशोधित नियमावलीअनुसार अब सञ्चालनमा आउने नयाँ स्टक एक्सचेन्जको चुक्तापुँजी ३ अर्ब रुपैयाँ हुनुपर्नेछ। यसअघिको व्यवस्थाअनुसार चुक्तापुँजी ५ करोड रुपैयाँमात्र छ।

त्यस्तै धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र लगानी गर्न सकिने व्यवस्था उल्लेख गरिएको थियो। तर, संशोधित नियमावलीमा पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।