काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ७ वटा ब्रोकर कम्पनीलाई बिहीबार कारोबार सदस्यता प्रदान गरेको छ। 

नेप्से सञ्चालक समितिले बुधबार बसेको बैठकले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम भौतिक र प्राविधिक रुपमा सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्य प्रदान गरिएको नेप्सेका एक अधिकारीले जानकारी दिए। 

कारोबार सदस्यता पाउने नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्ड छन्। नेप्सेले सन सेक्युरिटिललाई ब्रोकर नं. ६४, हिमालयन ब्रोकरेजलाई ब्रोकर नं. ६३, मियो सेक्युरिटिजलाई ब्रोकर नं.६६, सेयरप्रोलाई ब्रोकर नं. ६५, भोले गणेशलाई ब्रोकर नं. ६१, क्यापिटल म्याक्सलाई ब्रोकर नं. ६२ र प्रोपर्टी विजार्डलाई ब्रोकर नं. ६७ प्रदान गरेको छ।

सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीले नेप्सेबाट कारोबार सदस्यता पाएको बताए। ‘अब हामीले राफसाफ सदस्यताका लागि सीडीएससीबाट लिनुपर्ने हुन्छ’, उनले भने, ‘त्यसपछि हामी परीक्षण कारोबार सुरु गर्नेछौँ।’

सम्भवतः यही असारभित्र परीक्षण कारोबार सुरु गरिने गिरीले जानकारी दिए। ‘साउनबाट पूर्ण रुपमा कारोबार सञ्चालन गर्ने हाम्रो लक्ष्य रहेको छ’, उनले भने।

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्। तीमध्ये १० वटा कम्पनीको फाइनल अध्ययन गरेर नेप्सेले कारोबार सदस्यता प्रदानका लागि आशयपत्र (एलओआई) दिइसकेको छ। 

नेप्सेबाट एलओई पाउने नयाँ ब्रोकर कम्पनीमा नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेगा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिजमनी वर्ल्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केट छन्। नेप्सेले अब यी कम्पनीको भौतिक तथा प्राविधिक पूर्वाधार निरीक्षण गरेरमात्रै कारोबार सदस्यता प्रदान गर्नेछ।