– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ ब्रोकर लाइसेन्सका लागि ३० दिनको सूचना जारी गर्दै आवेदन माग गरेको छ। सेबोनले आवेदन दिनका लागि निर्धारण गरेको समय सकिन केही दिनमात्र बाँकी हुँदा अहिलेसम्म सेबोनमा ब्रोकर लाइसेन्सका लागि एउटामात्र आवेदन पेस भएको छ।

सेबोनमा अहिलेसम्म एउटामात्र निवेदन आउनुको कारण हो ‘नेप्सेको सिफारिस’। सेबोनमा नयाँ ब्रोकर लाइसेन्सका लागि निवेदन पेस गरेको हिमालयन ब्रोकरेजले पनि बिना नेप्सेको सिफारिस नै निवेदन पेस गरेको छ।

धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ। त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ।

सेबोनले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया अघि बढाएसँगै नेप्सेले नयाँ ब्रोकर लाइसेन्सको सिफारिस नदिने मनसाय बनाएको थियो। ‘तर, अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनपछि नेप्सेले सिफारिस दिने निर्णय गरेको छ’, नेप्सेका एक उच्च अधिकारीले भने, ‘त्यसैले नेप्सेको सञ्चालक समितिले आजमात्रै नयाँ लाइसेन्सका लागि सिफारिस दिनेसम्बन्धी निर्णय गरेको छ।’

ती अधिकारीका अनुसार अर्थमन्त्री शर्माले अमेरिका भ्रमण जानुअघि नेप्से नेतृत्वलाई नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस दिन ठाडो निर्देशन दिएका थिए। ‘बिना अध्ययन सेबोनले केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने प्रक्रिया अघि बढाएसँगै नेप्सेको सिफारिस नदिने मनसाय थियो’, ती अधिकारीले भने, ‘तर, अर्थमन्त्रीबाट सिफारिस दिन ठाडो निर्देशन आएसँगै नेप्सेले अहिले सिफारिस दिने निर्णय गरेको छ।’

नेप्सेको आज बसेको सञ्चालक समितिको बैठकले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेले सिफारिस दिने निर्णय गरेको छ। बैठकले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस दिने अधिकार नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई दिएको छ। 

नेप्सेमा अहिलेसम्म नयाँ ब्रोकर लाइसेन्सको सिफारिसका लागि १० वटा कम्पनीले निवेदन पेस गरेको नेप्से स्रोत बताउँछ।