काठमाण्डौ । सेयर बजारमा आएको उछाल एकदिन पनि टिक्न सकेन । साल २०७९ को अन्तिम कारोबार दिन बिहीबार बजार दोहोरो अंकले घटेर बन्द भयो । नयाँ वर्ष २०८० लाई बजारले रातो कार्पेट बिछ्याएर स्वागत गर्यो । 

यो दिन नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ को विन्दूमा सीमित हुन पुग्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेर १ अर्ब ६५ करोडमा सीमित बन्न पुग्यो । 

बजार जानकार दामोदर गजुरेल एकैदिन ठूलो अंकले बढेको बजारलाई करेक्सन आवश्यक भएकोले आजको गिरावटलाई स्वभाविक मान्नुपर्ने बताउँछन् । प्राविधिक रुपमा पनि बजार मजबुत नै रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ । सुपरटेण्डले पनि खरीदको संकेत गरेको उल्लेख गर्दै उनले अन्य फण्डामेन्टल पनि बलिया रहेका कारण नयाँ वर्षको बजार सुखद हुने दाबी गरे । 'ब्याजदर घटेको छ । चैत मसान्तको दवाब पनि सकिएको छ ।' उनले थपे-'अब लगानीकर्ताले तेश्रो त्रैमासको सूचीकृत कम्पनीहरुको विवरण हेर्नेछन् । राम्रो विवरण आएमा बजार बुम हुनेछ ।' 

बजार जानकार वीरेन्द्र बिष्ट पनि बिहीबारको गिरावटलाई स्वभाविक भन्छन् । उनको विचारमा बजार अब १९०० मुनि ओर्लिने सम्भावना न्यून छ । ब्याजदर घटेको, नयाँ ब्रोकर लाइसेन्सको बाटो खुलेको लगायतका कारणले बजार माथि जाने र अब बढ्ने बजार २००० देखि २२०० को सेरोफेरोमा रहने दाबी गरे । वास्तविक बुल भने करिब ६ महिनापछिदेखि सुरु हुने उनको भनाई छ । 

के के भयो बजारमा ?
अघिल्लो दिन हराभरा भएको बजार आज भने राताम्मे बन्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी २.३३ प्रतिशतले घट्यो । 

यस्तै, बैंकिंग समूह १.५६ प्रतिशत, विकास बैंक समूह २.४८ प्रतिशत, बित्त समूह १.९८ प्रतिशत, जलविद्युत समूह १.८२ प्रतिशत, निर्जीवन बीमा समूह १.४३ प्रतिशतले घटे । 

होटल तथा पर्यटन समूह ०.०९ प्रतिशतले घट्यो भने लगानी समूह ०.९० प्रतिशत, जीवन बीमा समूह ०.९६ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.९० प्रतिशत र म्युचुअल फण्ड समूह ०.४४ प्रतिशतले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा २७० वटा स्क्रीप्टको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी शिवम् सिमेन्टको ८ करोड ४२ लाख बढीको सेयर किनबेच भयो । 

हिमालयन डिस्टीलरीको ६ करोड, एनआइसी एशिया बैंकको ५ करोड ३५ लाख, नवील बैंकको ४ करोड ५९ लाख, शिवश्रि हाइडोपावरको ३ करोड ६९ लाख बढीको सेयर किनबेच भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजार दोहोरो अंकले घटे पनि यो दिन तीनवटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

आदर्श लघुवित्त, कालिञ्चोक दर्शन लिमीटेड र मोलुंग हाइडोपावरको सेयरमल्य १० प्रतिशतले बढ्यो । 

सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य घट्यो । यो स्किमको इकाई मूल्यमा ५.५ प्रतिशतको गिरावट आयो ।