काठमाण्डौ । अर्थ समितिले नयाँ व्यापारिक लाइसेन्स वितरण प्रक्रियाबारे छलफल गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाललाई बोलाउने भएको छ। 

आज बसेको अर्थ समितिको बैठकले सेबोन अध्यक्षलाई बोलाएर सरकारले हाल रोकेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स र अघि बढेको नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियाबारे छलफल गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी अधिकांश सदस्यले यसबारे कुरा उठाएपछि सेबोन अध्यक्षलाई अर्थ समितिको आगामी बैठकमा बलाउने निर्णय गरिएको हो। 

बैठकमा सहभागी सांसद पदम गिरीले यसअघि अर्थ समितिले दिएको निर्देशनलाई धितोपत्र बोर्डले अटेरी गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न भने पनि धितोपत्र बोर्डले अघि बढेको थियो’, उनले भने, ‘यसबारे बुझ्न आगामी बैठकमा धितोपत्र बोर्डलाई बोलाउनुपर्छ।’ 

अर्की सांसद नारायणी शर्माले समेत आगामी बैठकमा धितोपत्र बोर्डलाई नै बोलाएर छलफल गर्नुपर्नेमा जोड दिइन्। 

बैठकमा जोडतोडले आवाज उठेपछि ज्येष्ठ सदस्य सन्तोष चालिसेले अर्थ समितिको आगामी बैठकमा धितोपत्र बोर्डका अध्यक्षलाई नै बोलाएर छलफल गर्ने निर्णय गरेका हुन्।