-अर्जुन तिमिल्सिना 
काठमाण्डौ ।  बिसं २०७७ साल माघ महिनाबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको कार्यकालमा ब्रोकरहरुले नयाँ टीएमएस सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका थिए।

यसअघि  लामो समय एपीआई पोलिसीका कारण अड्केको नयाँ टीएमएस सञ्चालनका लागि कस्टमाइजेसनको काम हुँदै गरेको स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका निर्वतमान अध्यक्ष सन्तोष मैनालीले बताएका थिए । 

मैनालीका अनुसार आफ्नो ब्रोकरबाट मात्रै हुँदै आएको कस्टमाइजेसनको काम अब अन्य ३२ वटा ब्रोकरबाट पनि हुँदै आएको छ। यसअघि मैनालीले भनेका थिए, ‘काम द्रुतगतिमा अगाडि बढेको छ। हामीले दसैंअगाडि लन्च गर्ने तयारी गरेका छौँ ।’

उनी भन्छन्,  ‘दसैं नजिकिदै गर्दा र प्राविधिक काम थपिदै जाँदा नयाँ टीएमएस २०८० सालको  दसैंअगाडी पनि आउने सम्भावना टर्दै गएको छ । हामीले अहिले सीडीएसीसँग सहकार्य गरेर रियल टाइम पोर्टफोलियो हेर्न मिल्ने डीपी होल्डिङ टेष्ट गर्दै छौं । यसको लागि आठ/ १० दिन समय लाग्न सक्छ । तर हामीले लगानीकर्तालाई फुल फिचरसहितको टीएमएस दिंदै छौं । हाम्रो डीपी होल्डिङ रियल टाइममा हुन्छ, प्लेजेजमा रहेको सेयर पनि रियल टाइममा नै फ्रि हुने हुँदा अव लगानीकर्तालाई ऋण लिएर  पनि सेयर कारोबार सहज हुने छ । अहिले हाम्रो सर्वेयर र सीडीएसीको सिष्टम बीच म्याचिङ गर्ने काम भएको छ । हाम्रो कोसिस त दसैं तिहारको बीचमा ल्याउने हो ।  तर सम्भब नभएको खण्डमा तिहारपछि भने लगत्तै आउँछ । नयाँ टीएमएस आएपछि ब्रोकरहरुलाई पनि जोखिम व्यवस्थापन गर्न सहज हुन्छ ।’

उनले आउने टीएमएसमा डेटा विश्लेषण, आधारभूत तथा प्राविधिक विश्लेष्णसहितको अन्तराष्ट्रिय मापदण्ड रहने बताए । नयाँ टीएमएसमा मोबाइल एपबाटै सेयर कारोबारदेखि लगानीकर्ताले आफ्नो  हिसाव किताव पनि सहज रुपमा हेर्न सक्ने मैनालीले जानकारी दिए ।

यी सबै  कामहरु बाँकी हुँदा यो दसैं अगाडी टीएमएस आउन नसकेको मैनालीको विचार छ ।