-भक्तराज रसाइली
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडको लाभांशको सूचनामा चलखेल भएको देखिएको छ । 

यो कम्पनीले मंसिर १२ गतेको संचालक समितिको ८७ औं बैठकबाट प्रस्ताव भएको लाभांश सम्बन्धी सूचना नेपाल स्टक एक्सचेञ्जलाई मंसिर १३ गते नै लेखे पनि नेप्सेले भने सो सूचना मंसिर १४ गते मात्र प्रकाशन गरेको हो ।

कम्पनीले मंसिर १२ गतेको निर्णय सोही दिन नेप्सेलाई पठाउन नसक्नु र नेप्सेले १३ गते आएको सूचना १४ गते मात्र प्रकाशन गर्नु पछाडि चलखेल भएको आशंका गरिएको छ ।  

आम लगानीकर्ताहरुलाई १ दिन ढिला सूचना प्रकासित गरिनु कि त नेप्सेकै चरम लापरवाही हुन सक्छ कि त कम्पनीकै हेपाहा प्रवृत्ति ।

धितोपत्र सूचीकरण विनियमावली,२०७५मा ‘सूचीकरण गराउने संगठित संस्था र नेप्सेबीच भएको सम्झौतामा शर्त नम्बर ५ अनुसार संगठित संस्थाको लाभांश, बोनस वा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेमा कुन मितिसम्म रहेका शेयरधनीहरुले त्यस्तो लाभांश, बोनस वा हकप्रद सेयर पाउने हो सो सम्बन्धी जानकारी त्यस्तो निर्णय हुने बित्तिकै वा भोलिपल्ट कारोबार सुरु हुनअघि नेप्सेलाई दिनुपर्छ’ भनिएको छ । 

नाडेपको सञ्चालक समितिको बैठक मंसिर १२ गते बसी लाभांशको निर्णय गरेको देखिन्छ । बोनस सम्बन्धी निर्णय सोही दिन वा भोलिपल्ट मंसिर १३ गते दिनुपर्नेमा नेप्सेको वेबसाइटमा मंसिर १४ गतेमात्र हालेर बिहीबार १ दिन लगानीकर्ताहरुलाई गुमराहमा राखिएको पाइएको छ । 

नेप्सेले पत्ता लगाएर इन्साइडर ट्रेडिङ्ग भए पनि २/४ दिन कारोबार निलम्बन गर्ने र कारबाहीका नाममा चेतावनी मात्र दिएर छाड्ने प्रवृत्तिले गर्दा बजारमा खुलेआम यस्ता हर्कत हुने गरेका छन् । कम्पनीका संवेदनशील सूचनामा गम्भीर खेलवाड हुँदा समेत नेप्से भने सो विषयमा कहिल्यै गम्भीर देखिने गरेको छैन । बरु, झारा टार्ने काम गरेर भित्री कारोबार गर्नेहरुलाई प्रोत्साहित मात्र गर्ने गरेको पाइन्छ । 

नाडेप लघुवित्तका कम्पनी सचिव बाबुराम सुवेदीले आफूहरुले मंसिर १३ गते नै नेप्सेलाई लाभांश वितरणको निर्णयको बिषयमा लेखी पठाएको, तर नेप्सेले १४ गते मात्र प्रकाशन गरेको बताएका छन् । यदि उनको कुरा साँचो हो भने नाडेपको लाभांश सम्बन्धी सूचनामा नेप्सेकै कर्मचारीबाट चलखेल भएको आशंका गर्न सकिन्छ । अझ नेप्सेमा प्रकाशित सूचनामा त नाडेपले लाभांश सम्बन्धी निर्णयको बिषयमा मंसिर १४ गते मात्र जानकारी गराएको भनिएको छ । जुन गलत छ ।

 

नाडेप लघुवित्तले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।