काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश रद्द गरेको छ। 

संस्थाको आइतबार (माघ २९ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश रद्द गरेको हो। 

संस्थाको गत माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको कुल १०.५२६ प्रतिशतले हुन आउने ५ करोड ११ लाख ३२ हजार ६३१.५८ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको थियो। कम्पनीले १० प्रतिशतले हुन आउने ४ करोड ८५ लाख ७६ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशतले हुन आउने २५ लाख ५६ हजार ६३१.६८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 

प्रस्तावित लाभांश स्वीकृतिका लागि संस्थाले नेपाल राष्ट्र बैंकमा पेस गरेको थियो। तर, राष्ट्र बैंकले लाभांश वितरणमा प्रतिबन्ध लगाएपछि संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव रद्द गरेको हो। 

डिप्रोक्स लघुवित्तले नाडेपलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो। तर, सम्झौताबमोजिम प्राप्ति कार्य सम्पन्न हुन नसकी सैद्धान्तिक सहमति बदर भएको थियो। अब अर्को कुनै वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्तिमा नगएसम्मका लागि लाभांश वितरणमा राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ। 

राष्ट्र बैंकको यही प्रतिबन्धका कारण प्रस्तावित लाभांश रद्द गर्नुपरेको संस्थाले जनाएको छ।