काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले नियमविपरीत आफूखुसी निर्णय लिन थालेको भन्दै कर्मचारी रुष्ट बनेका छन्। 

सेबोनमा अध्यक्ष रुपमा नियुक्त भएको केही दिनमै आफ्नो बोलीबाट वाहीवाही कमाएका हमाल पछिल्ला गतिविधिबाट सेबोनभित्रै कर्मचारीका रुष्ट हुनुका साथै बाहिरबाट पनि उत्तिक आलोचित भइरहेका छन्। 

सेबोन अध्यक्ष हमाल आज बिहीबारदेखि फोर्स लिभ (बिदा)मा बसेका छन्। यो ७ दिनको हुन्छ। यो सबैलाई लागू हुन्छ।

प्रायः सार्वजनिक तथा सरकार निकायमा नेतृत्व बिदामा बस्दा आफूभन्दा मुनिका कर्मचारीलाई विधिवत रुपमा जिम्मेवारी दिने अभ्यास रहेको छ। तर, हमालले पहिलो नम्बरका कार्यकारी निर्देशक (ईडी) डा नवराज अधिकारीलाई नदिई दोस्रो नम्बरका ईडी विनयदेव आचार्यलाई जिम्मेवारी सुम्पेर बिदा बसेपछि सेबोनभित्रका कर्मचारीहरु रुष्ट भएका हुन्। ‘अधिकारी र आचार्यले एकैपटक ईडीमा नाम निकाल्नुभएको हो’, सेबोनका एक उच्च अधिकारीले भने, ‘तर, पहिलो नम्बरमा अधिकारीले नाम निकाल्नुभएको हो, आचार्यले दोस्रो नम्बरमा नाम निकाल्नुभएको थियो। त्यसैले आचार्यभन्दा अधिकारीलाई अध्यक्ष हमालले जिम्मेवारी दिएर जानुपथ्र्यो। तर, उहाँले आफूखुसी वरियता नहेरी आचार्यलाई दैनिक कार्य सञ्चालन भनेर जिम्मेवारी दिएर बिदा बस्नुभयो। यो ठीक भएन।’

ती अधिकारीका अनुसार धितोपत्र बजार नियामक सेबोनमा अध्यक्षले नियमविपरीत कार्य गर्दा सेबोन काम प्रभावित हुनुका साथै कर्मचारीहरुमा पनि तिक्तता बढ्न सक्छ। ‘यसअघि पनि बिदामा बस्दा अध्यक्ष हमालले नियम मिचेर आचार्यलाई नै सेबोनको जिम्मेवारी सुम्पिनुभएको थियो, त्यतिबेला हामी चुप लागेर बस्यौँ’, ती अधिकारीले भने, ‘अहिले फेरि बिदामा बस्दा नियमितविपरीत पुनः आचार्यलाई नै जिम्मेवारी दिएका छन्। अध्यक्ष हमालको मनोमानी धेरै भयो, अर्थ मन्त्रालयले बेलैमा उचित कदम नचाले ठूलो दुर्घटना हुन सक्छ।’ 

यसअघि पनि अध्यक्ष हमालले सेबोनभित्रका कर्मचारीहरुसँग रायसुझाव नलिईकन नियमावली, विनियमावलीहरु बाहिरको मान्छे प्रयोग गरी संशोधन गरेको आरोप लागेको थियो। त्यतिबेला पनि सेबोनका कर्मचारीहरुले खुलेरै अध्यक्ष हमालको कार्यको विरोध गरेका थिए।

त्यसो अध्यक्ष हमालले सार्वजनिक निष्कासनको अनुमति माग्ने कम्पनीहरुसँग बिचौलियाको प्रयोग गरी पैसा उठाएको खबरहरु पनि सार्वजनिक भएका थिए। उनले नियमविपरीत नियमावली, विनियमावलीहरु संशोधन गरेको भन्दै सर्वोच्च अदालतमा रिटपछि अहिलेसम्म पनि नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्ससेन्जको लाइसेन्स वितरण प्रक्रिया रोकिएको छ। 

स्रोतका अनुसार अध्यक्ष हमालले बिदामा बस्दा नियम मिचेर सेबोनको जिम्मेवारी ईडी आचार्यलाई दिएको विषयमा अर्थ मन्त्रालयसम्म कुरा पुगिसकेको स्रोतले जानकारी दियो।

ईडी आचार्यले पनि अध्यक्ष हमालले आफूलाई जिम्मेवारी दिएर बिदा बसेको स्वीकारेका छन्। ‘दैनिक कार्य सञ्चालनको जिम्मेवारी मलाई दिएर उहाँ बिदामा बस्नुभएको हो’, उनले भने। 

सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले पनि अध्यक्ष हमालले आफू बिदामा बस्दा दैनिक कार्य नरोकियोस् भन्ने उद्देश्यले दैनिक कार्य सञ्चालनको जिम्मेवारी ईडी आचार्यलाई सुम्पेको हुन सक्ने बताए। ‘दैनिक कार्य सञ्चालनको जिम्मेवारी तोक्ने अधिकार अध्यक्षमै हुन्छ जस्तो मलाई लाग्छ’, उनले भने, ‘ईडी आचार्यलाई निमित्तकै जिम्मेवारी दिइएको होइन होला, दैनिक कार्य सञ्चालनको जिम्मेवारीमात्र दिइएकोजस्तो मलाई लाग्छ।’