काठमाण्डौ । नेपालको पुँजीबजार विकास र विस्तारका लागि भारतीय धितोपत्र बजारको नियामक सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले सहयोग र सहकार्य गर्ने भएको छ।
हालै भारत भ्रमणमा पुगेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को टोलीलाई सेबीकी अध्यक्ष माधवी पुरीले नेपाल पुँजीबजार विकास र विस्तारका लागि सहयोग र सहकार्य गर्ने बताएकी हुन्।
सेबीको नमन्त्रणा गत असार २७ गतेदेखि ३१ गतेसम्म सेबोन अध्यक्ष रमेशकुमार हमाल नेतृत्वमा कामु कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उपकार्यकारी निर्देशक कृष्ण पोखरेल र कामु उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्मासहितको टोलीले भारतीय पुँजी बजारको अध्ययन भ्रमण गरेको थियो। भ्रमणका क्रममा सेबोनका पदाधिकारीहरुले सेबी, बम्बई स्टक एक्सचेन्ज (बीएसई), नेसनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केटस (एनआईएसएम) र मल्टी कमोडिटी एक्सचेज अफ इन्डिया (एमसीएक्स) का उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल गरेका थिए।
सेबी अध्यक्ष पुरीसँगको भेटमा आगामी दिनमा दुवै निकायबीच लङ टर्म को–अपरेसन स्थापित गरी समन्वय र सहकार्य गरी अगाडि बढने प्रतिबद्धता व्यक्त भएको थियो।
यसका साथै नेपालको पुँजीबजार विकासका लागि भारतीय पुँजीबजारको बेस्ट प्राक्टिसेज तथा अभ्यासहरुको मुख्यतः संस्थागत क्षमता अभिवृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाइन सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिवृद्धिका लागि गरिनुपर्ने कार्य सम्बन्धमा आपसी सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो।
यसैगरी सेबोन पदाधिकारीले बीएसईका प्रमुख कार्यकारी अधिकृत आशीषकुमार चौहानसहितका उच्च पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेको थियो । छलफलमा उक्त एक्सचेन्जले प्रयोग गरिरहेको कारोबार प्रणाली, सुपरिवेक्षणका लागि गरेको व्यवस्था र साइबर जोखिम कम गर्नका लागि गरेको व्यवस्था सम्बन्धमा जानकारी प्राप्त हुनुका साथै प्रणालीको अवलोकन गरिएको सेबोनले जनाएको छ।
बीएसई प्रमुख चौहानले नेपालको धितोपत्र बजार विकासका लागि सहयोग गर्न तत्पर रहेको बताएका थिए। त्यस्तै वित्तीय साक्षरता अभिवृृद्धिका लागि सेबीको अग्रसरतामा स्थापित एनआईएसएमको भ्रमण गरिएकोमा उक्त संस्थाको स्थापना, संरचना, सञ्चालनमा रहेको स्कुलसम्बन्धी जानकारी लिनुका साथै आगामी दिनमा प्रभावकारी रुपमा वित्तीय साक्षरता अभिवृद्धिका लागि सेबोनद्वारा नेपालमा स्थापना गरिने पुँजीबजार प्रशिक्षण इन्स्टिच्युटको सञ्चालनमा ल्याउन समन्वय तथा सहकार्य गर्ने छलफल भएको सेबोनले जनाएको छ।
यो भ्रमणले भारतीय बजारको नियमन व्यवस्था, कानुनी व्यवस्था, नियामकीय प्रविधिको विकास साथै नियमन निकायले बजारको विश्वसनीयता अभिवृद्धि गर्नका लागि खेल्नुपर्ने भूमिका र बजारको अनुगमन तथा सुपरिबेक्षण के कसरी गर्नुपर्दछ भन्ने विषयमा जानकारी प्राप्त भएको सेबोनले जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19