काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले नेपालको नक्साका विषयमा असन्तुष्टि जनाउँदै चीन भ्रमण रद्द गरेका छन्। 

चीनको निमन्त्रणमा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान–प्रदानका लागि बिहीबार दिउँसो मेयर बालेन बेइजिङ भ्रमणमा जाने कार्यक्रम थियो। तर, चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नदेखाइए भन्दै बेइजिङ भ्रमण रद्द गरेका हुन्।

‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ’, बालेनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘केही दिनपहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ। नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ।’

‘त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताका आधारमा नजाने निर्णय गरेको छु’, बालेनले लेखेका छन्।