काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन्।
नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गरेका हुन्। सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरहरुका बारेमा जानकारी दिंदै कार्कीले नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरेका थिए।
त्यसैगरी उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत परियोजनाहरुमा लगानीको ठूलो अवसर भएको बताए। भारत तथा चीनसँग विद्युत विकास तथा खरिदका लागि भएका सम्झौताहरु एवं जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाको बारेमा उल्लेख गर्दै देवले यसका लागि यो क्षेत्रमा ठूलो पुँजीको आवश्यकता र अवसर रहेको बताएका थिए।
अर्थमन्त्री प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका थिए।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लन्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतमार्फत बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताएका थिए।
नेपालले विद्युत व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेशमासमेत विद्युत निर्यात गर्ने तयारी गरेको बताउँदै उनले नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताएका थिए।
सम्मेलनमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका प्रवन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फन्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा आफूले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको बताएका थिए। यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका बिभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्ड (दुई खर्ब ४२ अर्ब रपैयाँ) सम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको बताएका थिए।
नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धि भएको १०० वर्ष पूरा भएको अवसरमा आयोजित उक्त सम्मेलनमा इप्पानका अध्यक्ष कार्कीसहित उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी भएका थिए। त्यस्तै ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय र विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी र बुद्धिजीवीको समेत सम्मेलनमा सहभागिता थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19