काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महत र संयुक्त अधिराज्य बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच भेटवार्ता भएको छ । 

लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री महतले नेपाल-बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउन परराष्ट्र मन्त्रालयले सहयोग गर्न आग्रह गरे ।

उनले कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण बृद्धि भएकाले लगाानीयोग्य पूँजीमा कमी भएकाले नेपालमा वाह्य लगानीको आवश्यकता रहेको पनि बताए  ।

साथै,उनले ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित उर्जा भएकाले यस क्षेत्रमा लगानी बृद्धि हुने विश्वास आफुले लिएको बताए ।उनले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानी गर्न समेत आग्रह गरे ।

जलवायु परिवर्तनका असरहरु सिर्जना हुनुमा नेपालको भुमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत उनले आग्रह गरे ।

यसैगरी, बेलायती परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिवद्धता व्यक्त गरिन् । उनले बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिबृद्धि गर्ने विषयमा आफु सकारात्मक रहेको पनि बताइन् ।