काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आईसीटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया-प्रशान्त क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

एसिया-प्रशान्त चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री परिसंघको आज काठमाण्डौमा सुरु ३७ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् ।

ठूला प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर बृद्धितर्फ नेपाली अर्थतन्त्र उन्मुख रहेको धारणा राख्दै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताए ।

पर्याप्त विदेशी मुद्रा सञ्चिति र  बैकिङ क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानीकर्ताहरुका लागि जोखिम कम हुँदै गएको पनि अध्यक्ष ढकालले उल्लेख गरे । नेपालको जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बंगलादेशको आर्थिक वृद्धिले  जलविद्युतको प्रचुर  बजार सृजना भएको उल्लेख गर्दै अध्यक्ष ढकालले  जलविद्युत परियोजनामा लगानीका अवसर छोप्नु पर्ने समय आएको बताए ।

यसैगरी, उनले विश्वस्तरीय होटेल र विमानस्थल लगायत पर्यटन पूर्वाधार बनिसकेकोले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको पनि बताए । बढ्दो पर्यटन बजारका लागि केबलकार, रिपोर्ट, थिम पार्क, हिल स्टेसन र ठूला होटेल लगायतका पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

नेपालले निर्यात  बजार विस्तार गरिरहेको र विभिन्न मुलुकहरूसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरू समेत भएकाले निर्यात केन्द्रित लगानी बढाउन पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

नेपालले दक्षिण एसिया, एसिया प्यासिफिक क्षेत्र र त्यसभन्दा बाहिर भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटी विस्तार गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले डिजिटल अर्थतन्त्रको विकासमा साझेदारीका लागि समेत आग्रह गरे ।

महासंघले लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन लगानीकर्ताहरुलाई सहयोग गर्न  तयार रहेको तर्फ पनि अध्यक्ष ढकालले विश्वस्त रहन गरेका थिए ।