काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको हकप्रदमा आवेदन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ। 

कम्पनीले आफ्ना सेयरधनीका लागि गत जेठ ६ गतेबाट हकप्रद सेयर निष्कासन गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। 

कम्पनीले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५० कित्ता हकप्रद जारी गरेको छ। 

यो हकप्रदमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी–आब्स सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट यो हकप्रदमा आवेदन दिन सकिनेछ। 

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत वैशाख २१ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत वैशाख २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य भएका छन्। 

सेबोनले नेपाल फाइनान्सलाई गत चैत ८ गते १०ः७ को अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको थियो। 

हाल कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।