काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गरेका छन् ।

बुधबार काठमाण्डौमा आयोजित नेपाल-कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगन्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको पनि बताए ।

अध्यक्ष ढकालले  ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी  गरी मुख्य  चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने बताए।  यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यहि क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई ‘विनविन’ को अवस्था सृजना हुने पनि अध्यक्ष ढकालले बताए ।

नेपालमा ठूलो लगानीका ३५० भन्दा बढी कोरियाली उद्यमहरू रहेको भन्दै उनले नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको बताए । 

नेपालले विकासोन्मुख देशको रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न  पनि कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने अध्यक्ष ढकालको भनाइ छ । 

अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने पनि बताए ।
केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन पनि अध्यक्ष ढकालले आग्रह गरे । 

ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले  निजी इक्विटी र  नयाँ नयाँ उद्यममा यस्तो पूँजी परिचालनमा कोरियाले सघाउनु पर्ने पनि अध्यक्ष ढकालले बताए  । 

उनले कोरियाली लगानीकर्तालाई नेपाल आउन,  अवसर खोज्न र लगानीको  सहज  वातावरण बनाउनका लागि महासंघले सदैब सहयोग गर्ने पनि बताए ।