काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनीले आगामी मंसिर १० गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो।कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरि बाँडफाँट गरिसकेको छ।

त्यस्तै कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। कम्पनीले बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयरु  मंसिर १० गतेदेखि बिक्री गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा मंसिर १३ गते हुनेछ भने ढिलोमा मंसिर २४ गतेभित्र हुनेछ।

 सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ। आईपीओ निष्कासन गर्न गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कस्तो छ कम्पनी ?
कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार  मेट्रिकटन क्षमताको साइलोसहितको वेयरहाउस निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भइरहेको छ र सोसमेत पुस महिनासम्ममा सञ्चालनमा आउनेछ।

यो कम्पनी संस्थापन गर्नुका प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु छ। कृषकको आवश्यकतावमोजिमको सुरक्षित तथा वैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने बाध्यता कृषकसँग रहिरहेको छ। अर्कोतर्फ त्यही खाद्यान्न केही महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ।

यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ कम्पनीले देशका तीनवटा महत्वपूर्ण स्थान सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

कृषकबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पद्धतिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ।

यसका साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ। 

कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत रु. १६२.७५ करोड रहेको छ। सो लगानीमध्ये रु. ९४ करोड ऋण र बाँकी स्वपूँजीबाट परिचालन गरिने कम्पनीले जनाएको छ। 

ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, हिमालयन बैंक, साबिक बैंक अफ काठमाण्डू, कृषि विकास बैंकको सहवित्तीयकरणमा गरिएको कम्पनीले जनाएको छ। कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबियोटक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्चर्स, टीएनआई, निफ्रा, मुक्तिनाथ कृषि, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टलगायतका लगानीकर्ताबाट लगानी जुटाइको छ। 

कम्पनीको हालको चुक्तापूँजी रु. ५५ करोड रहेकोमा साधारण निष्कासनबाट रु. १३ करोड ६५ लाख जुटाइने कम्पनीले जनाएको छ।